Nov 03 2026 | २०८३, कार्तिक १८ गते

Nov 03 2026 | २०८३, कार्तिक १८ गते

म्याग्देमा थानी बज्यै मन्दिरको समुद्घाटन, धार्मिक तथा पर्यटकीयस्थल बनाउने अभियानमा जुटे स्थानीयवासी

  • 127
    SHARES
  • 127 Shares
  • दमौली, १६ कार्तिक
    तनहुँको म्याग्दे गाउँपालिका–२, सानोचौतारास्थित थानी बज्यै मन्दिरको सोमबार एक समारोहबीच समुद्घाटन गरिएको छ। मन्दिरको उद्घाटन नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी उम्मेदवार एस।बी। थापाले गर्नुभएको हो।
    उद्घाटन समारोहमा बोल्दै नेता थापाले मन्दिर निर्माणका लागि स्थानीयवासीले देखाएको सक्रियता र तदारुकता प्रशंसनीय रहेको बताउनुभयो। उहाँले थानी बज्यै मन्दिर धार्मिक आस्था र विश्वासको साझा धरोहरका रूपमा स्थापित गरी यस क्षेत्रको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।
    मन्दिर रहेको स्थानबाट अन्नपूर्णलगायत विभिन्न हिमशृङ्खला तथा चारैतिरका हरियाली डाँडाकाँडा सहजै अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्याप्त सम्भावना रहेको उहाँको भनाइ थियो। 
    म्याग्दे गाउँपालिका–२ का वडाध्यक्ष सुकबहादुर रानाभाटले स्थानीयवासीको चाहनाअनुसार मन्दिर निर्माण सम्पन्न भए पनि निर्माण कम्पनीका सञ्चालक बमबहादुर थापाले अझै निर्माण कार्यको भुक्तानी पाउन नसकेको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा गाउँपालिकामार्फत क्रमागत रूपमा बजेट विनियोजन गरी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गर्न पहल गरिने बताउनुभयो। साथै, वडा कार्यालयका तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। 
    कार्यक्रममा नेपाल कराँते महासंघ गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्यका लागि पहल हुँदै आए पनि स्थानीय सरकारले अपेक्षाकृत चासो नदेखाएको गुनासो गर्नुभयो। मन्दिरसम्म विद्युत् विस्तारका लागि दुईवटा विद्युत् पोल राख्न निवेदन दिएको महिनौँ बितिसक्दा पनि सुनुवाइ नभएको भन्दै उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। 
    थानी बज्यै आमा समूहकी अध्यक्ष रेखुमाया श्रेष्ठले पर्यटन बोर्डबाट रु.१० लाख बजेट विनियोजन भएपछि मन्दिर निर्माण कार्यमा जुटिएको बताउनुभयो । ढुंगा र माटोबाट बनेको पुरानो मन्दिर जीर्ण अवस्थामा रहेकाले पक्की मन्दिर निर्माण गरिएको हो,उहाँले भन्नुभयो प्रदेश सरकारबाट रु.५ लाख बजेट विनियोजन भएको छ उक्त बजेटबाट शौचालय,स्टोर रुम र स्वागत गेट निर्माण गर्ने लक्ष्य राखिएको छ । उहाँका अनुसार नौमति बाजागाजासहित डोली भित्रइने योजना रहेको छ । थानी बज्यै आमा समूहकी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिका–२ का वडासदस्यद्वय महेन्द्र रानाभाट र रमेशकुमार अधिकारी, जामुने टोल विकास संस्थाका अध्यक्ष नारायणकुमार श्रेष्ठ, ऋषिकेश टोल विकास संस्थाका अध्यक्ष कमलजंग थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै सो अवसरमा प्रमुख अतिथी थापाले पर्यटन बोर्डबाट बजेट विनियोजन गर्नका लागि खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको चर्चा समेत गरिएको थियो । 
    वक्ताहरूले थानी बज्यै मन्दिरलाई धार्मिक आस्थाको केन्द्रसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयवासी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सञ्चालन समूहका सचिव भीमबहादुर थापा र स्वागत मन्तव्य सदस्य मधु घिमिरेले गर्नुभएको थियो। थानी बज्यै मन्दिर स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने रुमिमाया थापा,भीमबहादुर थापा,पदमकुमारी श्रेष्ठ,बिष्णुमाया श्रेष्ठ,प्रमुख अतिथी एस.बि थापा र पुजारी भीमबहादुर थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार