Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ग्रीसमा डढेलो : पाँच स्थानको अवस्था भयावह, जोखिममा राजधानी एथेन्स

  • 262
    SHARES
  • 262 Shares
  • काठमाडौं । ग्रीस हाल डढेलोको चरम संकटसँग जुधिरहेको छ ।

    राजधानी एथेन्सभन्दा करिब ३० किलोमिटर उत्तरमा फैलिएको डढेलोको असर एथेन्स पनि जोखिममा परेको छ  । पाँच प्रमुख स्थानमा फैलिएको भीषण आगलागीले जनधनको ठूलो क्षति पुर्‍याइरहेको छ ।

    शनिबार अफिडनेसमा सुरु भएको डढेलो उच्च तापक्रम र तीव्र हावाका कारण ड्रोसोपिगी, क्रियोनेरी र अगियोस स्टेफानोससम्म फैलिएको छ । आगो नियन्त्रणमा ल्याउन दुई सयभन्दा बढी अग्निनियन्त्रक, हेलिकप्टर र पानी छर्कने विमानहरू परिचालित छन् । यद्यपि, अझैपनि विभिन्न स्थानमा आगोको झिल्का बलिरहेका छन् । स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

    बीबीसीकाअनुसार ग्रीसको दोस्रो ठूलो टापु एवियामा स्थिति अत्यन्त जटिल बन्दै गएको छ । पिसोना नजिकै सुरु भएको आगो अफ्राटी क्षेत्रतर्फ तीव्र गतिमा फैलिँदैछ । पूर्नोस र मिस्ट्रोसजस्ता गाउँमा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ । अहिलेसम्म छ जना अग्निनियन्त्रकलाई अस्पतालमा भर्ना गरिएको छ ।

    किथिरा टापुमा फैलिएको आगोले ठूलो भूभाग फैलिएको छ । लिम्नियोनास समुद्रकिनारमा फसेका १३९ जनालाई तटरक्षक र निजी डुंगाको सहायताले काप्साली बन्दरगाहमा सुरक्षित लगिएको छ ।

    यस्तै, मेसिनिया क्षेत्रको ट्रिफिलिया नगरपालिका अन्तर्गत पोलिथेआमा शनिबार बिहान सुरु भएको आगो दिउँसो झनै फैलिएको छ । ८४ अग्निनियन्त्रक, ३० सवारी र ७ वटा विमान आगो निभाउन खटिएका छन् । यता क्रेटको चानिया जिल्लाको टेमेनिया क्षेत्रमा दुई फरक स्थानबाट सुरु भएको आगोले कम्तीमा दुई घर जलेर नष्ट गरिसकेको छ ।

    ग्रीसका विभिन्न क्षेत्र — आयोनियन टापु, पश्चिमी ग्रीस, पेलोपोनेस, केन्द्रीय ग्रीस, अत्तिका, एपिरस, म्यासेडोनिया, थ्रेस, थेस्साली, रोड्स र क्रेटमा अझै उच्च जोखिम रहेको सरकारी अधिकारीहरूले बताएका छन् । ग्रीसको आपत्‌कालीन प्रणाली ‘११२’ मार्फत पाँच वटा चेतावनी जारी गरी दर्जनौं गाउँ खाली गराइएको छ ।

    पछिल्ला तीन हप्तामा मात्र ग्रीसले हजारौं हेक्टर वन क्षेत्र गुमाइसकेको छ । चियोस टापुमा मात्रै ४ हजार ७०० हेक्टर जमिन जलेर नष्ट भयो । क्रेटमा ५ हजार पर्यटकलाई हटाउनुपरेको थियो ।

    ग्रीस सरकारले युरोपेली संघसँग ६ वटा थप अग्निनियन्त्रण विमानको माग गरेको छ । जलवायु संकट तथा नागरिक सुरक्षा मन्त्री यानिस केफालोगियानिसले भनेका छन्, “हामी मानव जीवन जोगाउन र वातावरणीय क्षति रोक्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागिरहेका छौं ।”


     नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार