Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भ्रामक सूचना र राजनीतिक खेल

  • 640
    SHARES
  • 640 Shares
  • “साथी हो, नेताहरूलाई भगाउन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो जहाज आयो है। अब त्यता लागौँ।” भदौ २४ गते यस्ता भ्रामक सूचना सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती फैलिरहेका थिए। जसले त्यो सूचना फैलायो, त्यसको उद्देश्य नेपालको लाइफलाइन त्रिभुवन विमानस्थललाई समाप्त पार्नु थियो। नेताहरू बिग्रिएका थिए, भ्रष्ट थिए, लालची थिए। तर यो स्पष्ट थियो कि तिनीहरूका लागि भागेर जाने अर्को कुनै देश थिएन र छैन। बंगलादेशकी हसिना र नेपालका ओली, प्रचण्ड र देउवामा धेरै भिन्नता छ। वैदेशिक शक्तिबाट यिनिहरू विभिन्न कालखण्डमा पालैपालो परिचालित भएका होलान्, तर यिनिहरू अरू कसैको निगाहमा स्थापित भएका भने थिएनन्। देशभित्रकै क्रान्तिबाट हिजोको पुस्ताले अनुमोदन गरेर स्थापित भएका थिए। तर समयसँगै देशभन्दा दल ठूलो, दलभन्दा गुट र परिवार ठूलो ठान्ने, र चुनावलाई कर्मकाण्डमा परिणत गरेर चरम भ्रष्टाचारमा लिप्त भएका कारण यिनिहरूको जनमत गुम्दै गयो र अन्ततः राजनीतिक पतन भयो। तैपनि यिनिहरूको भागेर जाने न भारतमा, न चीनमा, न त पश्चिममा कुनै ठाउँ थियो र छ। हिजो राजाको पनि त्यही अवस्था थियो। अफगानिस्तान र बंगलादेशको जस्तै विदेशीद्वारा स्थापित राजा वा नेता यिनिहरू होइनन्। तर पनि सामाजिक सञ्जालमा जुन गतिले एयरपोर्टलाई टार्गेट गरिँदै थियो, त्यसले खतरनाक षड्यन्त्रको गन्ध दिइरहेको थियो। कुनै न कुनै रूपमा गलत शक्तिले आन्दोलनको स्वच्छ मर्मलाई दुरुपयोग गरिरहेको छ भन्ने बुझ्न कठिन थिएन। तर पशुपतिनाथको कृपाले हाम्रो एयरपोर्ट जोगियो। दुर्भाग्यवश सिंहदरबार, अदालत र अन्य सार्वजनिक संरचना भने जोगिएनन्।
    देशमा परिवर्तन आवश्यक थियो र छ। आन्दोलनको मर्म निस्वार्थ थियो र छ। स्कुले केटाकेटीको रगत र बलिदान अमर रहनेछ। तर यो आन्दोलनको क्रममा जुन रूपको सोसल मिडिया म्यानुपुलेसन देखियो, त्यसले गम्भीर प्रश्नहरू उठाएको छ। जटिल भूराजनीतिमा जकडिएको नेपालजस्तो संवेदनशील देशमा अबका दिनमा परिवर्तनका लागि आन्दोलन गर्दा कुन रूपमा गर्नुपर्छ भन्ने सन्देश पनि यसले दिएको छ। यसको गम्भीर विवेचना हुनु आवश्यक छ। बाहिर खुल्न नचाहने र केवल मिडिया म्यानुपुलेसनबाट तरङ्ग सिर्जना गर्नेहरूबाट आफू पनि जोगिन र देशलाई पनि जोगाउन हामी सबैले सिक्नुपर्नेछ। ढुंगादेखि वनस्पति र जनावरसम्म सबैलाई देवी–देउता मानेर पूजा गर्ने हामीलाई कुनै एक व्यक्तिलाई देवत्वकरण गर्नु गाह्रो कुरा होइन, तर यो प्रवृत्तिले आधुनिक नेपालको भविष्यलाई झन् गम्भीर र तरल मोडमा पुर्‍याउन सक्छ भन्ने सबैले बुझ्नुपर्छ। 
    सूचनाको म्यानुपुलेसन कसरी हुन्छ ?
    यो बुझ्नका लागि महाभारतको एक घटना उपयुक्त छ। महाभारतको युद्धमा कौरव पक्ष अत्यन्तै सबल थियो। त्यसको धेरै कारणमध्ये एक थिए पाण्डवहरूका गुरु, परशुरामका शिष्य द्रोणाचार्य। महापराक्रमी द्रोणको एक कमजोरी थियो, उनका छोरा अश्वत्थामा। अश्वत्थामालाई भगवान् शिवले चिरञ्जीवी हुने वरदान दिएका थिए। कुरुक्षेत्रको युद्धमा उनको मृत्यु असम्भव थियो। तर कृष्णलाई थाहा थियो कि अश्वत्थामा बाहेक अन्य कुनै कुराले द्रोणलाई कमजोर बनाउन सक्दैन। द्रोणलाई निशस्त्र बनाउनका लागि अश्वत्थामा मरेको हल्ला फैलाइयो। तर द्रोणले यो हल्लाको सजिलै विश्वास गर्नेवाला थिएनन्। त्यसैले यो सूचना जीवनमा कहिल्यै झूट नबोल्ने युधिष्ठिरबाट बोलाउने योजना बनाइयो। युधिष्ठिरले सुरुमा मानेनन्। त्यसैले एउटा हात्तीलाई “अश्वत्थामा” नामकरण गरियो र त्यसको हत्या गरियो। त्यसपछि धर्मराज युधिष्ठिरले भने “अश्वत्थामा हतः इति नरो वा कुंजरो वा।“ अर्थात्–अश्वत्थामा मरे, तर मान्छे हो वा हात्ती हो थाहा छैन।” जब अश्वत्थामा मरे भन्ने भाग द्रोणले सुने, कृष्णले तुरुन्तै शंख बजाए जसका कारण द्रोणले बाँकी वाक्य “मान्छे हो कि हात्ती” सुनेनन्। आफ्नै सत्यवक्ता शिष्य युधिष्ठिरले बोलेको भन्दै द्रोणले त्यो कुरा विश्वास गरे र हतियार छोडे। त्यसपछि उनको हत्या भयो।
    गलत सूचना, अपुष्ट समाचार वा भ्रमित जानकारीको विश्वास गर्दा केसम्म हुन सक्छ भन्ने यो प्रसङ्गले स्पष्ट ज्ञान दिन्छ। महादेव शिवले आफ्ना छोरालाई दिएको चिरञ्जीवित्वको वरदानसम्म द्रोणले सम्झिएनन्। भ्रममा परे र मृत्यु भोगे।राजनीतिमा आफ्नो उद्देश्य पूरा गर्न कसरी सूचनाको स्रोत, प्रवाह र पूर्णतासँग खेलिन्छ भन्ने यहीबाट स्पष्ट हुन्छ।
    आजको युगमा पनि युधिष्ठिर जस्तै “मेनस्ट्रिम मिडिया” बाट आएको समाचार नै भए पनि त्यत्तिकै पत्याउन हुँदैन। विषय गम्भीर छ र आफ्नो गतिविधिले ठूलो प्रभाव पार्न सक्छ भने एकछिन रोकिएर, विचार–विमर्श गरेर बल्ल निर्णय गर्नुपर्छ। नत्र प्रयोग भइन्छ र यसको मूल्य सबैले चुकाउनुपर्छ।
    अन्त्यमा
    फेरि छोटकरीमा २३र२४ को आन्दोलनको कुरा गरौँ। जे भयो, त्यसको जिम्मेवार शक्ति र सम्पत्तिमा लिप्त भएका नेताहरू नै हुन्, यसमा दुईमत छैन। आन्दोलन आवश्यक थियो र त्यसले सुखद् परिणाम ल्याउनु पर्छ भन्नेमा पनि शंका छैन। तर जुन रूपमा आन्दोलनको दुरुपयोग भयो, यो पनि त्यत्तिकै गम्भीर विषय छ।
    आजको अन्तरिम सरकार यो सबैको मझधारमा उभिएको छ। सर्वसाधारणको परिवर्तनप्रतिको आशा, पब्लिक म्यानुपुलेसन गर्ने सोशल मिडिया, प्रतिक्रान्ति गर्न पर्खिरहेका नसच्चिएका पुराना दल, ६२र६३ का प्रतिगामी शक्ति, र भूराजनीतिक जटिलताको बीचमा। शुसीला कार्कीको सरकारले आन्दोलनको ताप रहँदै परिवर्तनलाई सकारात्मक दिशा प्रदान गरोस् र देशलाई शान्ति र समृद्धिको बाटोमा गतिशील बनाओस्। राणा, पञ्चायत र राजासँग लडेका हिजोका परिवर्तनकारीहरूले गरेका गल्तीहरू यो सरकारले नदोहोरोस्। अब नेपालले अर्को क्रान्ति त्यति सजिलै झेल्न सक्दैन।
    सबैको भलो होस्। जय देश।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार