श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धा स्थित कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन् । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो प्रकाशित भएपछि आइतवार नेपाली दुतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उनी रहेको स्थानमा गइ उनको अवस्थाबारे जानकारी लिएको हो । श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादक सहित दुतावासको टोली बिरामी राना भएको ठाउँमा गइ उपचारका लागि स्थानिय अस्पतालमा लगेर उपचार गरिएको छ । नेपाली दुतावासले राना सहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको बताइएको छ । आठमध्ये एकजना नेपाल फर्किसकेका छन् भने अन्य ६ जना मंगलवार नेपाल फर्कने छन् । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएपनि उनको पुलिस केस भएकोले एक्जीट भिषाको लागि समय लाग्ने नेपाली दुतावासले जनाएको छ । उनि बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दुतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए । रानाको अवस्था अहिले सामान्य रहेको छ । मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दुतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिएका छन् ।