पर्वत, १५ पुस
आफ्नै माटोमा भएको अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेकाबेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक रु तीन करोड कारोबार गर्दै आउनुभएको छ । पर्वतको मोदी गाउँपालिका २ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक रु तीन करोड आम्दानी गर्दै आउनुभएको हो ।
एक्काइस वर्ष लामो प्रहरी सेवा र विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी २ देउपुरको वडाध्यक्षसमेत बनेर कार्यकाल सक्नुभएका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गर्नुभएको हो ।
मोदी(५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा करिब ३० रोपनी क्षेत्रफलमा रु तीन करोडको लगानीमा सञ्चालित फार्मबाट वार्षिक रूपमा रु तीन करोडको कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो । फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट रु तीन करोड आम्दानी हुने उहाँको भनाइ छ । “फार्मसम्म जाने सडकको अवस्था भने मृत्युमार्ग जस्तो छ । तर पनि हरेस नखाई व्यवसायलाई निरन्तरता दिएको छु”, उहाँले भन्नुभयो । लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकसम्म पुगेपछि अवकाश हुनुभएका तिमिल्सिना जागिर छाडेको तीन महिनामा जनप्रतिनिधि बन्नुभएको थियो ।
जनप्रतिनिधिको कार्यकाल सकिएसँगै व्यवसायमा जोडिनुभएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ । चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको मोदी रेम्बो ट्राउट प्रालि चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो । पोखरा बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उहाँको फार्म जो–कोहीका लागि मन लोभ्याउने केन्द्र बनेको छ ।फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँका माछा पारखीसम्म पुग्ने तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार फार्ममा हाल पाँच जनाले रोजगार पाइरहेका छन् । फार्ममा वार्षिक ३० टन माछा उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।
विसं २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मासहितका व्यक्तिले सञ्चालन गरेका थिए । केही वर्षअघि आएको बाढीले फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाले सामूहिक लगानीमा पुनः नयाँ जग्गामा फार्म सञ्चालन गरिएको थियो । फार्म व्यवस्थापनको जिम्मा तिमिल्सिनाले लिनुभएको छ ।
सञ्चालक तिमिल्सिनाले फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर रु एक करोडभन्दा बढी बचत हुने गरेको जानकारी दिनुभयो । हाल रेम्बो ट्राउट प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको छ । न्यूज पोलरबाट
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij