जनचाहना न्यूज
तनहुँ ८ भदौ
व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा निर्माण गरिएको मादीनदी लिफ्ट खानेपानी आयोजनाले धमाधम पानी वितरण कार्य थालेको छ ।
नयाँ धारा जडानका लागि चार सय जना उपभोक्ताले पैसा बुझाएकामध्ये ३७० जनाको धारा जडान गरिसकेको सो संस्थाले जनाएको छ । पैसा बुझाएकामध्ये बाँकी ३० जनाको घरमा धारा जडान प्रक्रियामा रहेको संस्थाका व्यवस्थापक इश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“पाँच सय जनाले धारा जडानका लागि निवेदन दिएका थिए,जसमा एक जनाको विपन्न वर्गका लागि वडा कार्यालयबाट सिफारिस भई आएको छ ।”
नयाँ धारा जडानका लागि रु.३५ हजार शुल्क तोकिएको छ । अध्ययन समितिले अध्ययन गरी मापदण्ड भित्र रहेका विपन्न वर्गलाई सहुलियत दरमा धारा जडान गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।
निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७८ भदौमा सम्झौता गरेपनि निर्माण कार्यलाई निरन्तरता दिन नसक्दा ढिलाई हुन पुगेको हो ।
करिब ५ बर्ष अवधिमा योजना सम्पन्न गरि उपभोक्ताका घरमा पानीको धारा जडान कार्य थालिएको हो । पटक पटक म्याद थप गरि सम्पन्न गरिएको यस आयोजनाको यही भदौ २५ गतेसम्म म्याद रहेको छ ।
आयोजनाको मुख्य मुख्य कार्य बाहेक करिब १५ प्रतिशत काम बाँकी रहेकाले निर्माण कार्य भइरहेको संस्थाका अध्यक्ष सन्त तामाङ्गले बताउनुभयो ।
उहाँका अनुसार फिल्टर मिडिया अन्र्तगत तीन वटा टयाङ्गकीमा बालुवा राख्ने,रंगरोगन,तारबार,झ्याल गार्ड हाउसमा झ्याल,ढोका राख्ने,भदु्र डाँडामा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण र धारा जडान लगायतका कार्य बाँकी रहेको छ ।
निर्माण कम्पनीले लामो समयदेखि निर्माण कार्यमा आलटाल गर्दै आएका कारण पानी वितरणमा ढिलाई हुँदा उपभोक्ताले खानेपानीको चर्को समस्या खेप्नुपरेको थियो ।
संस्थाको नयाँ नेतृत्व आएपछि निर्माण कम्पनीलाई सहज वातावरण सिर्जना गर्दै आयोजना सम्पन्न गर्न तदारुकता दिइएको अध्यक्ष तामाङ्गले बताउनुभयो ।
निर्माण कम्पनीले काममा निरन्तरता दिएको भए तीन बर्ष अघिदेखि यहाँका उपभोक्ताले पानी खाना थालिसकेका हुने थिए ।
रु.२६ करोड २५ लाखको आयोजनामा २७ प्रतिशत घटिघटाउ र कन्टिजेन्सी कटाएर रु.सत्र करोड पचास लाखको लागतमा निर्माण कार्य थालिएको हो ।
सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानी रहेको थियो ।
अध्यक्ष तामाङ्गले भन्नुभयो “अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको मुख्य रिजर्भ टयाङ्की निर्माण सम्पन्न गरी पानी संकलन पश्चात पानी वितरण कार्य थालिएको हो ।”
व्यास नगरपालिका–४ चुरेखोल्सीस्थित मादीनदी किनारबाट करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याएर वडावासीलाई वितरण कार्य थालिएको हो ।
उहाँका अनुसार संस्थाले ट्यांकी निर्माणका लागि दुई रोपनी जग्गा खरिद र करिब तीन रोपनी सार्वजनिक जग्गा गरी करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याई आवश्यक भौतिक संरचना निर्माण गरिएको छ ।
उक्त मादीनदी लिफ्टबाट प्रतिसेकेण्ड २५ लिटर पानीको क्षमता रहेको बताइएको छ । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुई हजार छ सय असी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको थियो ।
व्यास नगरपालिका–१३ स्थित करादी खिरखादी मुहान,छाब्दी खोला लिफ्ट र छाब्दी मुहान लगायतका साना योजनाबाट समेत गरी प्रतिसेकेण्ड १७ लिटर पानी संकलन गरी व्यास–१ का २५ टोल र व्यास–१२ को एक टोलका उपभोक्तालाई वितरण गर्दै आएको थियो ।
उक्त पानीको स्रोतबाट वडाबासीलाई पर्याप्त मात्रामा खानेपानी उपलव्ध नभएपछि तत्कालिन संस्थाका अध्यक्ष स्व.चिजबहादुर दरैको कार्यकालमा मादीनदी लिफ्ट खानेपानीको अवधारणा ल्याइएको थियो ।
ऋण काढेरै भएपनि वडाबासीलाई सहज र पर्याप्त मात्रामा पानी खुवाउने सपना बोकेर अहोरात्र खटिनु भएका दरै हाल हामी माझ रहेनन् । दरैको २०८३ वैशाख १५ गते पोखरास्थित चरक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। मस्तिष्कघातका कारण उहाँको निधन भएको थियो। स्व.दरैको जुन सपना ढिलै भएपनि अहिले आएर पूरा भएको आभास वडाबासीले गर्न थालेका छ ।
यस क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानीको स्रोतले धान्न नसकेपछि वैकल्पिक खानेपानीको रूपमा मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण अघि बढाइएको हो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij