जनचाहना न्यूज
दमौली ९ भदौ
ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा बैंकको दमौली शाखाले दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। एक कार्यक्रमका बीच बैंकका क्षेत्रीय प्रबन्धक हरि अधिकारीले दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिकुमार श्रेष्ठलाई वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभएको हो। उक्त सहयोगले संस्थामा आउने सेवाग्राही तथा उपभोक्तालाई सहज रूपमा खानेपानीको सुविधा उपलब्ध गराउन सहयोग पुग्ने बैंकले जनाएको छ। हस्तान्तरण कार्यक्रममा दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक अमर गिरी, ग्रिन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयका प्रतिनिधि सुदिप न्यौपाने, दमौली शाखाका शाखा प्रबन्धक युवराज शाही, संस्थाका कोषाध्यक्ष चिरौकाजी बतास तथा सदस्य सूर्यभक्त अधिकारीको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले बैंकले संस्थाप्रति देखाएको सहयोगको प्रशंसा गर्दै वाटर डिस्पेन्सरबाट संस्थाका करिब ३ हजार ९ सय उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो। उहाँले बैंक र संस्थाबीचको सहकार्यले आगामी दिनमा पनि सामाजिक तथा सामुदायिक क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। ग्रिन डेभलपमेन्ट बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै समुदाय लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij