Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

जीपी कोइरालामा इण्डोस्कोपी र छाला रोग संम्बन्धि सेवा विस्तार ः १०४ जनाले बिरामीले लिए इण्डोस्कोपी सेवा

  • 126
    SHARES
  • 126 Shares
  • जनचाहना न्यूज
    तनहुँ १३ कार्तिक
    तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सञ्चालनमा रहेको इन्डोस्कोपी सेवाबाट बिरामीहरू लाभान्वित भएका छन्। केन्द्रमा यसअघि उक्त सेवा नहुँदा पोखरा,चितवन लगायतका लामो दूरी धाउनुपर्ने बाध्यताको अन्त्य भएसंगै उपचारमा आउने बिरामी खुशी भएका छन् । 
    केन्द्रका अनुसार गत आर्थिक वर्ष २०८२–०८३ मा ७९ र चालु आर्थिक बर्षको साउन ९,भदौ ५ र असोज ११ गरी  २५ जनाले उक्त सेवा लिएका छन्। यसरी गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गरी कुल १०४ जनाले सेवा प्राप्त गरेका छन्। उक्त सेवा गत आवको अन्तिम अन्तिमबाट सुचारु गरिएको सो केन्द्रले जनाएको छ । यस सेवा संम्बन्धि अझै जनमानसमा जानकारी नहुँदा अन्यत्र धाउनुपरेको डा.श्रेष्ठले बताउनुभयो । 
    पाचन प्रणालीसँग सम्बन्धित विभिन्न रोगको पहिचान तथा निदानका लागि इन्डोस्कोपी सेवा महत्वपूर्ण मानिन्छ। विशेषगरी पेट दुख्ने, ग्यास्ट्रिकसम्बन्धी समस्या, खाना निल्न कठिनाइ हुने तथा खाद्यनली र आमाशयसँग सम्बन्धित समस्याको परीक्षणमा यो प्रविधि उपयोगी हुने गर्दछ। उपचार केन्द्रमै इन्डोस्कोपी सेवा उपलब्ध हुँदा तनहुँसहित आसपासका जिल्लाका बिरामीलाई सहज हुने अपेक्षा गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसले स्वास्थ्य परीक्षणका लागि ठूला सहरका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। बिशेष गरी तनहुँ,स्याङ्गजा,लमजुङ्ग र गोरखा देखिबाट बिरामीहरु उपचारका लागि आउने गरेको पाइन्छ ।
    विशिष्टीकृत स्वास्थ्य सेवाको स्थानीयस्तरमै उपलब्धताले बिरामीको समय र खर्च बचत हुनुका साथै रोगको समयमै पहिचान गरी उपचार प्रक्रिया अघि बढाउन सहयोग पुग्ने देखिन्छ। जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपलब्ध इन्डोस्कोपी सेवाले यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। केन्द्रबाट ५० जना क्षमताको शैय्या संचालनका साथै डायलासिस,आइसियू सेवा,हाडजोर्नी,स्त्रीरोग,नाक कान र घाँटीको अप्रेशसन तथा बिशेषज्ञबाट जाँच,छाला रोग बिशेषज्ञ,मेडिसिन र महिनाको ८ गते हिमालयन आँखा अस्पतालका चिकित्सक टोलीद्धारा आँखा जाँचको व्यवस्था मिलाइएको छ । दशै बिदा पछि ज्वरोका बिरामीको संख्या बढ्न थालेको सो केन्द्रले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार