Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासका अपाङ्गता स्रोत कक्षाहरूलाई नमुना बनाउने तयारी ः बरैनीमा घुम्ती बैठक सम्पन्न

  • 296
    SHARES
  • 296 Shares
  • दमौली १९ कार्तिक
    व्यास नगरपालिका अन्तर्गत सञ्चालित पाँचवटा अपाङ्गता स्रोत कक्षाहरूको घुम्ती बैठक व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। बैठकमा अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने, स्रोत कक्षाको व्यवस्थापन सुधार गर्ने तथा सरोकारवालाबीच सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल गरिएको थियो। 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पाठकको अध्यक्षता तथा व्यास नगरपालिका स्रोत कक्षा तथा अपाङ्गता तथ्य लेखाजोखा केन्द्रका लेखाजोखा संयोजक ईश्वर बास्तोलाको संयोजकत्वमा उक्त बैठक सम्पन्न भएको हो। बैठकमा पाँचवटै स्रोत कक्षा सञ्चालन भएका विद्यालयका प्रधानाध्यापक, स्रोत शिक्षक, अपाङ्गता क्षेत्रका प्रतिनिधि, अधिकारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
    कार्यक्रममा व्यास नगरपालिकाले पाँचवटा स्रोत कक्षामा कार्यरत ९ जना आयाको पारिश्रमिक वृद्धि गरेको निर्णयप्रति सहभागीहरूले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए। उक्त निर्णयले अपाङ्गता भएका विद्यार्थीहरूको दैनिक हेरचाह, सहयोग र स्रोत कक्षाको प्रभावकारी सञ्चालनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। 
    छलफलका क्रममा चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेलले दृष्टिविहीन विद्यार्थीहरूको माथिल्लो तहको शिक्षणमा ब्रेल लिपिमार्फत पाठ्यसामग्री अनुवाद तथा सहजीकरण गर्दा स्रोत शिक्षकहरूले भोगिरहेका चुनौतीबारे जानकारी गराउँदै आवश्यक सहयोग र स्रोत–साधन व्यवस्थापनमा जोड दिए। 
    त्यसैगरी, जनसेवा बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्रकी प्रधानाध्यापक शारदा थापा अधिकारीले अपाङ्गता शिक्षाको विकासका लागि सबै पक्षबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताइन् भने बुद्ध दाहाल बहिरा विद्यालयकी प्रधानाध्यापक कमला पौडेलले भर्ना अभियानका क्रममा अपाङ्गता भएका बालबालिकाको पहिचान गरी विद्यालयको पहुँचमा ल्याउन साझा प्रयासको खाँचो औंल्याइन्।
    सिद्धबेनी माध्यमिक विद्यालयका प्रधानाध्यापक रोदन थापाले घुम्ती बैठक अनुभव आदान–प्रदान र समस्या समाधान गर्ने प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै अटिज्म र बौद्धिक अपाङ्गताको प्रकृति फरक हुने भएकाले विद्यार्थीको विशेष आवश्यकता अनुसार शिक्षण गर्नुपर्ने बताए। सिन्धु बौद्धिक अपाङ्गता स्रोत कक्षाका प्रधानाध्यापक मदन वाग्लेले स्रोत कक्षालाई नमुना बनाउने अभियानमा भएका प्रयास र उपलब्धिहरूको समीक्षा प्रस्तुत गरेका थिए।
    बैठकमा विगतदेखि सञ्चालन हुँदै आएको शैक्षिक भ्रमणलाई निरन्तरता दिने, स्रोत कक्षाबीचको सहकार्यलाई अझ सुदृढ गर्ने तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू भएका छन्। साथै, पाँचवटै स्रोत कक्षाका स्रोत शिक्षकहरूले आ–आफ्नो विद्यालयको प्रगति प्रतिवेदन समेत पेस गरेका थिए। कार्यक्रमको सञ्चालन लेखाजोखा संयोजक ईश्वर बास्तोलाले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार