Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दुबईमा १५ नेपाली अलपत्र, खान र बस्न देऊ भन्दा गुण्डा लगाएर कुटपिट

  • 314
    SHARES
  • 314 Shares
  • काठमाडौं ३ साउन 
    गगन अर्याल
    संयुक्त अरब इमिरेट्सको दुबईमा १५ जना नेपाली अलपत्र परेका छन् । आफूहरूलाई काम तथा खान र बस्न पनि नदिएर अलपत्र पारेको पीडितहरूले बताएका छन् । 
    ‘हामीलाई ८ महिनादेखि काम दिएका छैनन्, पछिल्लो समय खानरबस्न पनि नदिएर अलपत्र पारेका छन्,’ लोकान्तरको सम्पर्कमा आएका एक पीडितले भने ।
    खानरबस्न र नेपाल फर्काउने व्यवस्था गरिदिनुपर्‍यो भनेर आफूहरूलाई लैजाने व्यक्तिलाई भन्दा गुण्डा लगाएर कुटपिट गरेको उनीहरूको गुनासो छ ।
    पीडितमध्ये एक महिलालाई लछारपछार पारेर हात भाँचिने गरी कुटपिट गरिएको पीडितहरूले बताएका छन् ।  
    आफूहरूलाई अलपत्र पार्ने मुख्य नाइके दुबईमा सिल्भरलाइन फ्यासिलिटी म्यानेजमेन्ट सर्भिसेज सञ्चालन गर्ने पर्वत डाँडाखर्कका विजय सुनार र उनका सहयोगी झापाको शिवसताक्षी मैधरका ओमप्रकाश भन्ने अनुप थापा रहेको पीडितहरुले बताएका छन् ।  
    उनीहरूले १ वर्षअगाडिदेखि दुबईमा पेट्रोल पम्प खोल्न लागेको र त्यहाँ कर्मचारी चाहिएको भन्दै १८ जनालाई भिजिट भिसामा दुबई लगेका थिए । सुनारले एकजना व्यक्तिबाट ५ लाख र अन्य व्यक्तिबाट २ लाख १० हजारका दरले पैसा लिएको उनीहरूको गुनासो छ । 
    पीडितले सुनारलाई बुझाएको पैसाको प्रमाण समेत सार्वजनिक भएको छ।
    सुनारले प्रतिव्यक्ति १ लाख रुपैयाँ कमाइ हुने भन्दै प्रलोभनमा पारेर दुबई लगेको पीडितले बताएका छन् । उनीहरूले पीडितहरूलाई त्यहाँ गोल्डेन भिसा भन्दै नक्कली कागजात समेत उपलब्ध गराएर विश्वासमा लिएको पाइएको छ ।
    काम दिन नसकेपछि आफूहरूलाई काम उपलब्ध गराइदिनुपर्‍यो भन्दा उल्टै मान्छे लगाएर कुटपिट गरेको एक पीडितले बताए ।
    ‘हामीलाई कि काम देऊ, कि खान देऊ भन्दा गुण्डा लगाएर कुटपिट गरेका छन्,’ एक पीडितले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार