विश्वेश्वरप्रसाद कोइराला सिन्धुली जिल्लाको दुम्जामा पैतृक थलो भएका कृष्णप्रसाद कोइरालाका सुपुत्र हुन् । दुम्जामा अग्लो घर बनाएको अभियोगमा तत्कालीन राणा सरकारले त्यहाँ बस्न नदिएपछि कृष्णप्रसाद कोइराला मोरङको बिराटनगरमा बसाइँ सरेका थिए । बिराटनगरमा पनि विद्यालय खोल्ने र महिला तथा पुरुष समान हुनुपर्छ भन्नेजस्ता गतिविधि गरेका कारण कृष्णप्रसाद कोइरालालाई तत्कालीन राणा सरकारले सर्वस्वहरण सहित देश निकाला गरेको थियो ।
देश निकालापछि कृष्णप्रसाद कोइरालाको परिवार भारतको बनारस जान बाध्य भयो । त्यही बनारसमा वि.सं.१९७१ भदौ २४ गतेका दिन विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको थियो । उनले भारतबाटै बी.ए., बी.एल् र स्नातकोत्तर सम्मको शिक्षा पूरा गरेका थिए । विश्वेश्वरप्रसाद कोइराला तत्कालीन भारतमा भएको अङ्ग्रेज विरोधी राजनीतिबाट प्रभावित थिए । भारतीय स्वतन्त्रता आन्दोलनलाई सहयोग गर्नसकेको खण्डमा नेपालबाट राणाहरुलाई हटाउन सकिने दृढ विश्वसकासाथ विश्वेश्वरप्रसाद कोइराला अगाडि बढिरहे । भारतीय नेताहरुको सङ्गत र राजनीतिक क्षेत्रको कठोर साधानाका कारण यिनी नेपाली राजनीतिको फाँटमा शिखर पुरुषको नामबाट परिचित छन् । यिनी राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेता हुन् ।
विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति र साहित्यका शिखर पुरुष हुन् । वि.सं.२००७ सालमा नेपालबाट राणाशासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न सफल विश्वेश्वरप्रसाद कोइराला वि.सं.२०१५ सालको चुनाव जितेर नेपालको जननिर्वाचित प्रधानामन्त्री बनेका थिए ।
विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यको क्षेत्रमा झनै प्रखर छन् । सूर्यविक्रम ज्ञवालीको सङ्गतबाट वि.सं.१९९२ सालमा चन्द्रवदनकथा प्रकाशन गरेपछि यिनको नेपाली साहित्य लेखनको यात्रा प्रारम्भ भएको हो । दार्जलिङबाट प्रकाशन हुने शारदा पत्रिकामा छापिएको विश्वेश्वरप्रसाद कोइरालाको चन्द्रवदनकथा नेपाली साहित्यकै पहिलो आधुनिक मनोवैज्ञानिक कथा हो भने विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यका प्रथम आधुनिक मनोवैज्ञानिक कथाकार हुन् । यसभन्दा पहिले यिनले हिन्दीभाषामा वहाँ कथा छपाएका थिए । कोइरालामा मनोविज्ञानमा आधारित कथा लेख्ने प्रवृत्तिलाई नक्कल गर्दै भावानी भिक्षु, गोबिन्दबहादुर मल्ल गोठाले, देवकुमारी थापाजस्ता थुप्रै कथाकारहरुले मनोवैज्ञानिक कथाहरु लेखेका छन् ।
विश्वेश्वरप्रसाद कोइरालालाई नेपाली सहित्यलेखनमा भन्दा पहिले अङ्ग्रेजी र हिन्दी भाषाका साहित्यिक कृतिहरुको पठनमा रुचि थियो । यिनले अङ्ग्रेजी र हिन्दी साहित्यका प्रसस्त कृतिहरुको अध्ययन गरेका थिए । अङ्ग्रेजी र हिन्दी साहित्यको प्रभावलाई व्यवहारमा उतार्ने क्षमता भएका विश्वेश्वरप्रसाद कोइराला फ्रायडवादी, यौनवादी, मनोविज्ञानवादी, आर्दशवादी, छायावादी, नियतिवादी आदि साहित्यकारका रुपमा स्थापित भएका छन् ।
विश्वेश्वरप्रसाद कोइराला पाश्चात्य मुलुकका एन्टोन चेखव, मोपासा, टाल्सटाय, गोर्की, बर्नाडशा, एडलर, सिग्मण्ड फ्रायड आदिबाट प्रभावित थिए । यिनले यौन विषयक र यौनेतर साहित्यक कृतिहरु रचना गरेका थिए । यिनका प्राय ः जसो साहित्य कृतिहरु यौन विषयक छन् भने यिनकाएक रात, दोषी चस्मा, शत्रु जस्ता यौनेतर साहित्यक कृतिहरुमा राजनीतिक परिवेशगत व्यक्ति मानसिकताको चिरफार गरिएको पाइन्छ । मानिसका चेतन र अवचेतन मनको चिरफार गर्दै विश्वेश्वरप्रसाद कोइरालाले हीनता र उच्चता ग्रन्थीको व्यापक विश्लेषण गरेका छन् । इड, इगो र सुपर इगो जस्ता मानव मनका विविध पक्षहरुको विश्लेषण गर्दै साहित्यिक कृतिको रचना गर्न विश्वेश्वरप्रसाद कोइराला निकै खप्पिस् देखिएका छन् ।
विश्वेश्वरप्रसाद कोइरालाले नेपाली कथा, उपन्यास, कविता, निबन्ध र आत्मजीवनी लेखनको क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएका छन् । दोषी चस्मा, श्वेत भैरवी र हरिप्रसाद शर्माको सम्पादनमा सम्पादित विश्वेश्वरप्रसाद कोइरालाका कथा गरी यिनका कथा सङग्रहहरु प्रकाशित छन् । चन्द्रवदन, विहा, शत्रु र सिपाही कोइरालीका पहिलो चरणमा लेखिएका कथाहरु हुन भने प्रेम, दुलही, द्वन्द्व प्रेम, मधेशतिर, होड, दोषी चस्मा, हरिदत्त, महाराज सवारी, प्रेम ९दोस्रो०, कर्णेलको घोडा, पवित्रा, कथा, स्कुल मास्टर, पुस्तक, बौलाहा र रिक्सा तान्ने कथाहरु यिनका दोस्रो चरणका कथाहरु हुन् । विश्वेश्वरप्रसाद कोइराला कोइरालाका तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदीआइन, हिटलर र यहुदी, बाबु आमा र छोरा गरी छ वटा उपन्यासहरु प्रकाशित भएका छन् । कोइरालाका विषयपुरुष, छोरी र छाया जस्ताकविताहरुलाई विश्वेश्वरप्रसाद कोइरालाका कविता नामक कविता सङग्रहमा सङ्कलन गरिएको छ ।
ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा साहित्यमा प्रगतिशिलता विषयक विश्वेश्वरप्रसाद कोइरालाका निबन्ध लगायतका रचनाहरु प्रकाशित भएका छन् । प्रजातान्त्रिक समाजकावादका चिन्तक विश्वेश्वरप्रसाद कोइरालाले स्वतन्त्र रुपमा चिन्तन,आयाम, परम्परा रशैली दिएर नेपाली कथा, उपन्यास, कविता, निबन्ध र अन्य लेखरचनामार्फत नेपाली वाङ्मयलाई शिखरमा पुऱ्याउन विशेष योगदान दिएका छन् ।
आफ्नो कथा, जेलजर्नल र विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृतान्त कोइरालाका अन्य लेख रचनाहरु हुन् । वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित विश्वेश्वरप्रसाद कोइरालाका महत्वपूर्ण भनाइहरुलाई आत्मवृतान्तमासंकलन गरिएको छ भने विश्वेश्वरप्रसाद कोइराला सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित कोइरालाका जीवनोपयोगी अनुभवहरुलाई जेलजर्नलभित्र समेटिएका छन् । आफ्नो कथा र जेलजर्नलमा प्रजातन्त्रप्रतिको कोइरालाको निष्ठा र चिन्तन तथा प्रजातन्त्रप्राप्तिको आन्दोलनका लागि गरेको कठोर साधाना लगायतका विषयहरुलाई प्रस्तुत गरिएको छ ।
वि.सं.२०३३ साल पुष १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि त्रिभुवन विमान स्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा विश्वेश्वरप्रसाद कोइरालालाई लगिएपछि लेखिएको फेरि सुन्दरीजल कोइरालको लेखले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यर्थाथ चित्र उतारेको छ ।
विश्वेश्वरप्रसाद कोइराला सिग्मण्ड फ्रायडको यौनमनोविज्ञान र रुसी कथाकार एन्टोन चेखबको व्यक्ति मानसिकताको विश्लेवष गर्ने शैलीलाई नेपाली कथामा उतार्ने पहिलो कथाकार हुन् । यिनका कथामा चेतन र अवचेतन मनको यथार्थ उदघाट्न गर्दै अवचेतन मनमा रहेका दमित कामेक्षा र कुण्ठालाई केलाई मनोग्रन्थीलाई फुकाउने काम गरिएको पाइन्छ । नेपाली सहित्यमा बिशुद्ध यथार्थवाद र मनोविश्लेषणत्मक अनि तथा रतिरागात्मकताको प्रदर्शन गर्नु र मानिसको मनोलोकीय यर्थाथलाई कलामूल्य प्रदान गर्नु कोइरालाको मूल पहिचान हो । पात्रका आन्तरिक मनको चिरफार गरी उनीहरुका मनका कुण्ठा, यौनेन्छा, अतृप्त चाहना अदिलाई साहित्यमा प्रयोग गर्नु तथा पात्रको मनोरचना र मनोग्रन्थीलाईआर्कषक ढङ्गले प्रस्तुत गर्नु, कथा लेखनमा रुसी कथाकार चेखवको र उपन्यास लेखनमा फ्रान्सेली उपन्यासकार मोपाँसाको शैलीलाई अनुसरण गर्नु, फ्रायडेली यौनमनोविज्ञानमा मात्र नभई शुद्ध मनोविज्ञानको समेत प्रयोग गरेर साहित्य रचना गर्नु कोइरालका विशिष्ट पहिचान हुन् ।
शारीरिक रुपमा टाढा भए पनि प्रेमले मानिसलाई नजिक बनाउछ भन्ने कुरालाई कोइरालाले तीन घुम्ती उपन्यास मार्फत व्यक्त गरेका छन् । यस उपन्यासमा बाबु आमाको इच्छा विपरीत प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसँग यौन तृप्ति र सन्तानप्राप्ति अनिपतिबाट अस्वीकृत भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय गरेकी एउटी नारीको तीन वटा फरक निर्णयहरुलाई प्रस्तुत गरिएको छ ।
नेपाली आख्यान लेखनको क्षेत्रमा विश्वेश्वरप्रसाद कोइरालालाई कसैसँग पनि तुलना गर्न सकिदैन । कोइरालाले आफूलाई साहित्यमा अराजकतावादी भनेका छन् ।यिनले कलालाई सुरक्षा नभई स्वतन्त्रता चाहिने कुरा बताएका छन् र समालोचक हुनका लागि ज्ञान र सीपको आवश्यकता हुनपर्छ भन्ने कुरा बताएका छन् । साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ । साहित्य, सभ्यताको प्रतीक हो । सङ्गीत र भावको मिश्रणबाट जन्मेको दर्शन नै साहित्य हो भनेर कोइरालाले साहित्यप्रति आफ्नो समालोचनात्मक दृष्टि व्यक्त गरेका छन् ।
विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश साहित्यिक कृतिहरु अस्तित्ववादी छन् । यिनका प्रायः सबै जसो कथा तथा उपन्यासहरुले मानवजीवन भित्र वैयाक्तिक स्वतन्त्रता र आत्मनिर्णयको चिन्तनलाई सशक्त बनाएका छन् । अस्तित्वको विशिष्ट उपस्थिति उसको शक्ति बनेर देखा परेको छ । मानिस एक सत्ता हो, जससँग जीवनका सबै खाले निर्णयहरु आफ्नो पक्षमा गर्न पाउने हक सुरक्षित रहन्छ भन्नेजस्ता विश्वेश्वरप्रसाद कोइरालाका विचारहरु यिनका साहित्यिक कृतिहरुमा अभिव्यक्त भएका छन् । रिक्सा तान्ने कथाका पात्रले मालिकका छोराहरुलाई पड्काउदै थर्काउनु यसको उदाहरण हो ।
यौन भन्ने विषय प्रत्येक व्यक्तिको शरीरसँग उमेरसँगै विकसित हुँदै आउने प्राकृतिक संवेग हो । यसलाई आदर्श वा नैतिकताले ढाकछोप गर्न सक्दैन भन्दै कोइरालाले यौनलाई मानसिक शक्तिको ठूलो स्रोतको रुपमा होड, पबित्रा, मधेशतिर, कर्णेतको घोडा, हरिदत्त र श्वेत भैरवी कथाका साथै नरेन्द्र दाइ, बाबु आमा र छोरा जस्ता उपन्यासहरु मार्फत पुष्टि गरेका छन् ।
मानवमनको शुक्ष्म विश्लेषण गर्दै रतिराग र यौन तथा यौनजन्य गतिविधिलाई सालिन ढङ्गले प्रस्तुत गरेर विश्वेश्वरप्रसाद कोइरालाले मधेशतिर कथा लेखेका छन् । घटनालाई भन्दा चरित्रलाई महत्व दिई यिनले दोषी चस्मा, शत्रु जस्ता कथाहरु लेखेका छन् । कथा नामको कथा लेखेर फ्रायडेली यौन सिद्धान्तको सफल प्रयोग गर्ने विश्वेश्वरप्रसाद कोइराला परिष्कृत र मानकभाषालाई साहित्यमा प्रयोग गर्ने सफल साहित्यकार हुन् ।
यौन चेतनालाई उदाङ्ग पारेर व्याख्या गरे पनि विश्वेश्वरप्रसाद कोइरालाका पात्रहरु अश्लील र अनैतिक छैनन् । नाङ्गा र घृणित यौन तथा वेश्यापन विश्वेश्वरप्रसाद कोइरालाका कृतिहरुमा कतै भेटिदैनन् । नैतिकता नै ठूलो हतिहार हो भन्ने मान्यतामा आधारित भएर विश्वेश्वरप्रसाद कोइरालाले यौनवादी साहित्यिक कृतिहरु रचेका छन् ।
जीवन एउटा भवितव्यता र नियतिको बसमा छ भन्ने मान्यता विश्वेश्वरप्रसाद कोइरालामा पाइन्छ । नियति भनेको आफले गल्ती नगरी अरुका कारणबाट आफूले पाउने दुःख कष्ट हो । विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश कथा तथा उपन्यासहरुमा नियतिवादको सफल प्रयोग भएको पाइन्छ । हामी सबै नियतिको बसमा छौं । आफ्नै आफ्नै खुशीले र आफ्नै आफ्नै निर्णयले यस दुनियामा कोही पनि बाँचेको छैन भन्ने नियतिवाद विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक कृतिहरुमा पाइन्छ ।
नरेन्द्र दाइ उपन्यासमा गौरी भाउजूले आफ्नो जीवनलाई नियतिकै फल सम्झेर परित्याग गरेको घर पनि रुँघेर बसेकी छन् । बाबु आमा र छोरा उपन्यासकी उमाले पनि प्रेमीलाई छोरो सम्झनु नियतिको ज्वलन्त उदाहरण हो । मधेशतिर कथाकी विधवाको सुन गोरेले चोरेर भाग्नु पनि नियतिको फल हो ।
विश्वेश्वरप्रसाद कोइरालाको सबै भन्दा शक्तिशाली पक्ष भनेको मानवातवाद र नारी चेतनाको प्रस्तुतीकरण गर्नु हो । उनका हरेक साहित्यिक कृतिहरुमा नारी पात्रहरु सबै भन्दा शक्तिशाली बनेर आएका छन् । तीन घुम्ती उपन्यासकी इन्द्रमाया नारी स्वतन्त्रताको सबैभन्दा शक्तिशाली पात्र हो । उसले नारीका पत्नी, प्रेमीका र आमाको भूमिकामा आफ्नो निर्णयलाई अगाडि सारेकी छे । यस्तै नरेन्द्र दाइ उपन्यासकी गौरी भाउजूले लोग्ने मरेपछि पनि सिन्दुर पोते, गर्गहना र राता लुगा केही पनि नफेर्नु नारी चेतनाको अर्को उदाहरण हो ।
विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक कृतिहरुमा मिथकको सफल प्रयोग भएको पाइन्छ । सुम्निमा उपन्यासमा सोमदत्त र सुम्निमा बीचको प्रेमलाई किराँत र आर्य संस्कृतिमा पाइने मिथकलाई प्रस्तुत गरिएको छ । यस्तै मोदीआइन उपन्यासमा पनि पहाडी र मधेशी समुदायमा प्रचलित मिथकको प्रयोग भएको पाइन्छ ।
विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक कृतिहरुमा मनवता,लीला तथा उत्तरअधुनिकताको सफल प्रयोग भएको पाइन्छ । शत्रु कथा लीला कथा हो । विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक कृतिहरुमा पूर्व मान्यतालाई तोड्न सक्ने शक्ति छताछुल्ल भएको पाइन्छ । श्रीमदभागवत गीता दर्शनलाई विश्वेश्वरप्रसाद कोइरालाले हिटलर र यहुदी तथा मोदीआइन उपन्यासमा प्रयोग गरेका छन् ।
सम्झौतावादी दर्शन विश्वेश्वरप्रसाद कोइरालाको अर्को पहिचान हो । सुम्निमा उपन्यासमा किराँत र आयसमिश्रण गरी सम्झौता गरिएकोछ ।यसरी नै नरेन्द्र दाइ उपन्यासमा गौरीलाईत्यागेर हिडेको नरेन्द्र दाइ अन्तिमकालमा आएर गौरीसँग सम्झौता गर्न आइपुग्छ । बाबु आमा र छोरा उपन्यासमा उमाले प्रेमीलाई छोराको रुपमा स्वर्काछे । जति नै द्वन्द्वमा फसे पनि समस्याको समाधान सम्भौता हो भन्ने मान्यता विश्वेश्वरप्रसाद कोइरालामा पाइन्छ । राजनीतिक जीवनमा पनि वि.सं.२०३३ सालमाराष्ट्रिय मेलमिलापको नीति लिएर विश्वेश्वरप्रसाद कोइराला स्वदेश आउनु उनमा रहेको सम्झौतावादी चिन्तनको गतिलो उदाहरणहो ।
केशवराजको हीनता ग्रन्थीको विश्लेषण गरिएको दोषी चस्मा कथा, एउटा राजनीति कर्मीको पीडालाई सामान्य रुपमा व्यक्त गरिएको एक रात कथा, आफूलाई अजात शत्रु ठान्ने कृष्ण रायको मानसिकताको चिरफार भएको शत्रु कथा, हरिदत्तको पार्वती प्रतिको एकोहोरो प्रेम देखाइएको हरिदत्त कथा, पद्माको मानसिक द्वन्द्वको काटकीकरण भएको होड कथा, पवित्राको अनुहार कुरुप भएकै कारण पवित्राको विवाह हुन नपाएको पवित्रा कथा, श्वेतभैरवी बनेकी फगुनीको क्रियाकलापको परिणमस्वरुप सानोबाबु ९कथाकार० ले भोग्नु परेको पीडालाई व्यक्त गरिएको श्वेतभैरवी कथा, यौन सुखभन्दा धनसुख ठूलो भन्ने देखाउनका लागि विधवाको शरीर पाए पनि गोरेले धनलाई महत्व दिदै उसको सुन चोरेर भागेको दृश्यदेखाइएको मधेशतिर कथा, महाभारतमा अर्जुनलाई प्रेरित गरेर कृष्णले माहान युद्ध गराए पनि आखिर युद्ध त्याग गरी शान्ति स्थापनामा लाग्नु पर्ने कुरामा जोड दिएको मानवतावादी उपन्यास मोदीआइन, जर्मन तानाशाह हिटलरले गरेको नरसंहार र युद्ध भयङ्करतालाई देखाएर शान्ति नै मुल आधार हो भन्ने सन्देश दिइएको मानवतावादी उपन्यास हिटलर र यहुदी, आफ्नै छारोकी गर्भवती प्रमिकासँग बाबुको दोस्रो बिहे भई बाबुकी पत्नीको स्थान लिनु जस्तो नेपाली समाजमा नपच्ने खालको आख्यानलाई पात्रको मानसिक द्वन्द्व र यौन विश्लेषणको चिरफार भएको बाबु आमा र छोरा उपन्यास, किँरात र आर्य संस्कृतिलाई समन्वय गरिएको संस्कृतिपरक सुम्निमा उपन्यास, नारीका तीन वटा रुपहरु पत्नीहरु ः प्रेमिका र आमालाई विश्लेषण गरिएको तीन घुम्ती उपन्यास मनोविज्ञानमा आधारित नरेन्द्र दाइ उपन्यास जस्ता कहिलै पुराना नहुने र सदाबहार चेतनाले भरिएका विश्वेश्वरप्रसाद कोइराला साहित्यिक कृतिहरु नेपाली पाठक र समीक्षकहरुलाई गलाउने खालका नेपाली आख्यानहरु हुन् ।
विश्वेश्वरप्रसाद कोइरालाका आख्यान बाहेकका आफ्नो कथा, आत्मावृतान्त, जेलजर्नल, फेरि सुन्दरी जलजस्ता लेखरचनाहरुभित्र पनि साहित्यको प्रयोग भएको पाइन्छ । विश्वेश्वरप्रसाद कोइरालाका यी कृतिहरुबाट नेपाली राजनीति, अध्यात्म र अरु सम्पूर्ण पक्षहरुलाई बुझ्न सहयोग पुगेको देखिन्छ । वर्तमान राजनैतिक सङ्कटको अवसरमा विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक तथा राजनीतिक चिन्तन र दर्शनलाई मुक्तकण्ठनले व्याख्या तथा विश्लेषण गर्दै व्यवहारमा लागू गर्न आवश्यक देखिन्छ ।
विश्वेश्वरप्रसाद कोइरालाले राजनीतिक क्षेत्रमा गरेको योगदानको विशेष चर्चा हुने गरे पनि उनले नेपाली साहित्यको क्षेत्रमा दिएको योगदानको त्यही रुपमा चर्चा गरिएको पाइदैन । उनले राजनीतिक क्षेत्रमा पुऱ्याएको योगदान जस्तै साहित्यिक क्षेत्रमा पुऱ्याएको योगदान पनि बिर्सन सकिदैन ।
व्यास– १, विज्ञानचौर, तनहुँ
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij