बुटवल २७ पुस
प्रकाश आचार्य
रुसी सेनामा भर्ती भएका प्युठान नगरपालिका–४ काठेबगरका सोमेश सुनार ‘सोनु’को मृत्यु भएको छ । सेनामा भर्ती भएको करिब डेढ महिनामै उनको मृत्यु भएको छिमेकी खगेश्वर थापाले जानकारी दिए । सोनुसँगै घाइते भएका अन्य एक नेपाली युवाले उनको मृत्यु भएको खबर परिवारलाई दिएको थापाले जानकारी दिएका हुन् ।
रोजगारीको शिलशिलामा कतार पुगेका सोनु उतैबाट करिब डेढ महिनाअघि रुस गएर त्यहाँको सेनामा संलग्न भएका थिए ।
‘डेढ वर्षअघि सोनु कतार गएका थिए,’ थापाले भने, ‘अक्टोबरमा रुस गएर त्यहाँको सेनामा भर्ती हुने प्रक्रिया थालेका थिए । भर्ती भएर युद्धमा होमिएको एक–डेढ महिनामै मृत्यु भएको खबर आयो ।’
यस्तै प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले पनि रुस–युक्रेमा युद्धमा परी सोनुको मृत्यु भएको खबर आएको लोकान्तरलाई पुष्टि गरे ।
सोनु परिवारका जेठा छोरा थिए । उनका बुवा भारतमा मजदुरी गर्दै आएका थिए । सोनुसँगै काम गर्ने बर्दियाका एक युवाले उनको मृत्यु भएको जानकारी बुवालाई दिएका थिए । छोराको मृत्युको खबर आएपछि बुवा घर आएका छन् । केही समयअघि कपिलवस्तुका एक युवाको पनि रुसमै मृत्यु भएको थियो ।