गाजा पट्टी
गाजाको नागरिक सुरक्षा निकायले बुधबार राति सहरको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ । अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजामा विशेष गरी जबालिया सहर र यसको छेउछाउको शरणार्थी शिविरलाई लक्षित गर्दै ठूलो भूमि र हवाई आक्रमण गरिरहेको छ ।
सेनाले आक्रमण हमास लडाकूहरूलाई त्यहाँ पुनर्गठन हुनबाट रोक्ने प्रयास भएको बताएको छ । यद्यपि उद्धारकर्ताहरूले आक्रमणले पहिले नै हजारौँ नागरिकको ज्यान लिइसकेको बताएका छन् ।
‘जबालिया सहरमा विस्थापित मानिसहरू बसिरहेको घरमा मध्यरातपछि भएको यो नरसंहारमा १५ जना मारिए र २० जनाभन्दा बढी घाइते भए,’ नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने । सम्पर्क गर्दा इजरायली सेनाले रिपोर्ट गरिएको आक्रमणबारे अनुसन्धान गरिरहेको बतायो ।
बासलले घरमा बस्नेहरू बद्रा, अबु वर्दा र तरुस परिवारका सदस्यहरू रहेको बताए । उनीहरूले त्यहाँ शरण लिएका थिए । गत वर्ष अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजाका २४ लाख मानिसमध्ये अधिकांश कम्तीमा एक पटक विस्थापित भएका छन् ।
जबालियाको आक्रमणमा मृत्यु भएका र घाइतेहरूलाई अल–ममदानी अस्पतालमा लगिएको आफ्नो पहिलो नाम बताउने उद्धारकर्ता मोहम्मदले जानकारी दिए । ‘उनीहरूलाई लक्षित घरको भग्नावशेषमुनिबाट बाहिर निकालिएको थियो,’ उनले भने । केही पीडितका आफन्तका अनुसार उद्धारकर्ताहरूले अझै पनि भग्नावशेषमुनि बाँचेका व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij