काठमाडौं । अहिले नेपालभरका उपभोक्ताले ग्यासको सास्ती भोगिरहेका छन् । खाली सिलिन्डर बोकेर सर्वसाधारण पसल–पसल चाहर्न बाध्य भएका छन् । लामो लाइन बस्दा समेत ग्यास नपाएको उपभोक्ताको गुनासो बढिरहेका बेला सरकारले यसको विकल्प खोजेको छ ।
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले यसको आपूर्ति र वितरणलाई सहज बनाउन २४ सै घण्टा ग्यास बिक्री–वितरण गर्ने नयाँ तयारी थालेको छ । ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न विशेष व्यवस्था गर्न लागिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वर राज पौडेलका अनुसार काठमाडौं उपत्यकामा उपभोक्तालाई सहज सेवा दिन २४ सै घण्टा ग्यास बिक्री गर्ने तयारी गरिएको छ ।
‘सबै प्रकारका ग्यास उपभोक्तालाई सेवा दिन शनिवार र आइतबार २४ सै घण्टा ग्यास वितरण गर्ने तयारी थालेका छौँ । ग्यास वितरकहरूले पनि त्यस अनुसार नै पसल खाेल्न सर्कुलर जारी गर्ने तयारी गरिएको छ’, उनले भने ।
तत्कालको समस्या समाधान गर्नका लागि काठमाडौंमा विभिन्न ठाउँ हेरेर ग्यास बिक्री वितरणको तयारी रहेको उनले बताए । काठमाडौंका उपभोक्तालाई सेवा दिनका लागि शनिवार र आइतबार कर्मचारी खटाएर भएपनि ग्यासको बिक्री वितरण गर्ने उनले जानकारी दिए ।
‘यो सेवा भोलीदेखि नै शुरु गर्दैछौँ । यसका लागि टिम बनाएर गृहकार्य गरिरहेका छौँ’, उनले भने ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बसुन्धाराको राधास्वामी, किर्तीपुरको स्मृति भवन, आयल निगमको टेकु परिसर, दशरथ रंगशाला, नेशनल ट्रेडिङको बिक्री केन्द्र, चन्द्रागिरि नगरपालिकाको कम्पाउण्ड भित्र, चाँदबाहक स्कुल, गोकर्णेस्वर र टोखा नगरपालिका, चावहिलको यातायात कार्यालय, महाराजगञ्जको वडा कार्यालय, बबरमहल, जुडो हल लगायत क्षेत्रबाट ग्यासको बिक्री वितरण गर्ने तयारी रहेको छ ।
मन्त्रालयले छुट्टै सप्लाइ चेन बनाउनका लागि कार्यविधि बनाइरहेको छ । त्यसका लागि सबै निकायसँग छलफल समेत भइरहेको छ ।
त्यस्तै, आफ्नो घरमा ग्यास अभाव भएको भनेर प्रमुख जिल्ला अधिकारीलाई अष्ट्रलियाबाट फोन समेत आएको उनले सुनाए । उत्पादनदेखि सप्लाइसम्मको चेन हेर्दा डेटाले ठिकठाक नै देखाएको तर बजारमा अभाव मात्रै देखिएको उनको भनाई छ । कोही कसैले ग्यास लुकाएको भए उजुरी गर्न समेत उनले आग्रह गरे ।
तथ्यांकले देखाउँदैन अभाव
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हाल नेपालभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् । कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिकटन र दैनिक फिलिङ क्षमता एक करोड ७५ लाख ग्यास सिलिन्डरहरू बजारीकरण भएको अवस्था छ ।
आर्थिक वर्ष २०८१–८२ मा ५५ करोड ४६ लाख १२ हजार ६ सय ५८ केजी र आर्थिक वर्ष २०८२–८३ मा जम्मा ५२ करोड ५ लाख २५ हजार १५२ केजी ग्यास आयात भएको तथ्यांकमा उल्लेख छ ।
‘अघिल्लो वर्षमा भएको आयातको तुलनामा नियमित माग धान्न सक्नेगरि ग्यास आयात तथा वितरण भइरहेको भएपनि यही साउन महिनादेखि पुरा सिलिण्डर वितरण प्रारम्भ भएपछि ग्यासको मागमा एकै पटक वृद्धि हुन गई बजारमा असहज अवस्था सिर्जना भयो’, सहसचिव नेत्र प्रसाद सुवेदीले भने ।
आधा सिलिण्डर बिक्री गर्दा ग्यास अभाव भएको र यसरी माग नबढेको उनको जिकिर छ । उनले साबिकको तुलनामा ग्यास आपूर्ति बढेको र आपूर्तिमा समस्या नरहेको उनको भनाई छ । उपभोक्ताले आफूलाई आवश्यक रहेको सिलिण्डर मात्रै खरिद गर्न उनले आग्रह समेत गरे ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले पनि आधा सिलिण्डर बिक्री वितरण गर्दा ग्यास आयात कम भएकोले अहिले पुरा सिलिण्डर वितरण गर्दा अभाव देखिएको जानकारी दिए ।
उनले भने, ‘हामीले नेपालको पूर्वदेखि पश्चिमसम्म ग्यास बिक्री वितरण गर्ने गरेका छौँ । यसअघि आधा सिलिण्डर बिक्री वितरण गर्दाको समयमा ग्यास आयात कम भयो । अहिले फूल सिलिण्डर बिक्री वितरण शुरु गर्दा माग ह्वात्तै बढ्न पुग्यो ।’
त्यो बेला आधार सिलिण्डर किन्नेभन्दा पुरा सिलिण्डर कहिले आउँछन् भन्ने उपभोक्ता धेरै रहेको उनको अनुभव छ । पुरा सिलिण्डर बिक्री वितरण शुरु गर्ने बित्तिकै उपभोक्ताहरूको माग बढ्नेको उनको भनाई छ ।
एकै पटक सबै सिलिण्डर नभर्न आग्रह
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले चाहिनेभन्दा बढी सिलिण्डर बिक्री वितरण गर्दा पनि ग्यासको अभाव भइरहेकोमा आफूहरू पनि अचम्ममा परेको सुनाए ।
ग्यासको बिक्री वितरणमा कुनै समस्या नरहेकोले उपभोक्ताले धेरै ग्यास स्टक गरेर नराख्न उनले आग्रह गरे । साहले भने, ‘अहिले हामीले सहजै ग्यास आयात गरिरहेका छौँ । आयातमा कुनै समस्या छैन । भोलीका दिनमा पनि सहजै ग्यास पाउनु हुन्छ । त्यसैले चाहिने भन्दा बढी सिलिण्डर स्टक नगर्नुहोला ।’
एकै पटक सबै सिलिण्डर नभर्न समेत उपभोक्तालाई उनले आग्रह गरे ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij