रौतहट । रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीबाट बोलबम यात्राका लागि भारत गएका तीर्थयात्री सवार बस झारखण्डमा दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा पोठियाहीका ६० वर्षीय नवल जयसवाल, उनकी श्रीमती र १० वर्षीय शिवम महतोको मृत्यु भएको हो । दुर्घटनामा अन्य यात्रुसमेत घाइते भएका छन् ।
पोठियाहीबाट गत आइतबार ना.६ ख १५५४ नम्बरको बसमा ४५ जना तीर्थयात्री भारतको बैद्यनाथ धामका लागि गएको स्थानीयले बताए । बासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा शुक्रबार बिहान करिब ३ बजे झारखण्डको कोडरमा जिल्लास्थित सतगावाँ थाना क्षेत्रमा बस र मालवाहक ट्रक आपसमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रकको अगाडिको भागसँग बस ठोक्किँदा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ । दुर्घटनालगत्तै सतगावाँ प्रहरी घटनास्थलमा पुगेको र घाइते यात्रुहरूको उद्धार गरी नजिकका अस्पतालमा पठाएको जानकारी दिइएको छ ।
दुर्घटनामा घाइते हुनेहरूको संख्या र उनीहरूको अवस्थाबारे भने विस्तृत विवरण आउन बाँकी रहेको छ । मृतक तथा घाइतेमध्ये अधिकांश पोठियाहीकै बासिन्दा रहेको स्थानीयले बताए ।
सतगावाँ थाना प्रमुख बब्लु सिंहले प्रारम्भिक अनुसन्धानका क्रममा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने देखिएको बताए । दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
दुर्घटनाको खबर गाउँमा फैलिएपछि पोठियाही शोकमा डुबेको छ । गाउँका तीर्थयात्री दुर्घटनामा परेको खबर पाएपछि मृतक तथा घाइतेका आफन्त शुक्रबार बिहानै चारवटा सवारीसाधन रिजर्भ गरी भारततर्फ गएको स्थानीयले बताए ।
दुर्घटनाको खबरसँगै गाउँमा आफन्तको रुवाबासी चलेको छ । बोलबम यात्राका लागि घरबाट गएका आफन्त दुर्घटनामा परेको खबरले गाउँमा सन्नाटा छाएको स्थानीयले जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले घटनाबारे आफूले पनि भारतीय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । घटनाको विस्तृत विवरण बुझ्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij