काठमाडौं २१ असोज
नेपाली कांग्रेसको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । १५औं महाधिवेशनका लागि सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरको उम्मेदवारी परेको हो । सबैभन्दा पहिले खड्गीले उम्मेदवारी दर्ता गरेका थिए । त्यसपछि थापाले र अन्तिममा राठौरले उम्मेदवारी दर्ता गरे । थापा गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थिए । त्यसअघि उनी १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए । १५औँ महाधिवेशनमा थापाले पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिएका हुन् ।
राठौरले मङ्गलवार नै पत्रकार सम्मेलनमार्फत सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । उनले कांग्रेसलाई एकताबद्ध बनाउने एजेन्डासहित आफूले सभापतिमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । राठौर नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष तथा कांग्रेसका पूर्व सहमहामन्त्री हुन् । यस्तै, श्यामकृष्ण खड्गीले पनि सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनी बागमती प्रदेशको काठमाडौं क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति हुन् । खड्गीले कांग्रेसलाई एकताबद्ध बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन् । मङ्गलवारदेखि कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा समेत उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
त्यसैगरी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उनैलाई लक्षित गरेर महाधिवेशनको अन्तिम समयमा यो पद सृजना गरिएको थियो । यसअघि कांग्रेसमा यो पद रहेको थिएन । सभापति गगन थापासँगै महामन्त्रीमा निर्वाचित उनी विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए । मङ्गलवार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समयमा यो पदमा उनको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij