दमौली १२ कार्तिक
तनहुँको व्यास नगरपालिकामा कात्तिक १३ गतेदेखि ‘प्रथम व्यास मेयर कप–२०८३’ फुटबल प्रतियोगिता हुने भएको छ। व्यास नगर खेलकुद समितिको आयोजनामा दमौलीस्थित बीपी वनवाटिका खेल मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।बिहीबार दमौलीमा आयोजित पत्रकार सम्मेलन गरी फुटवल प्रतियोगिताको बारेमा जानकारी गराइएको हो ।
नगरभित्र फुटबल खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा व्यास नगरपालिकाका १४ वटै वडाबाट एक–एक टोली सहभागी हुने व्यास नगर खेलकुद समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिता तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगिताको उद्घाटन कात्तिक १३ गते बिहान ८ बजे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनसँगै प्रतियोगिताको पहिलो खेल वडा नम्बर १३ र वडा नम्बर ७ बीच हुने आयोजकले जनाएको छ। मौसम प्रतिकूल रहेमा उद्घाटन कार्यक्रमको समय तथा तालिकामा फेरबदल हुन सक्ने समितिले जनाएको छ। सो अवसरमा पन्ध्र बर्षपछि पहिलो पटक दमौलीमा ११ ए साइड फुटवल प्रतियोगिता हुन लागेको जानकारी समेत गराइएको थियो ।
यसैबीच, प्रतियोगिता सञ्चालन हुने बीपी वनवाटिका खेल मैदानको स्तरोन्नतिका लागि संघीय सरकारबाट रु। २ करोड बजेट विनियोजन भएको बताइएको छ। उक्त बजेटबाट खेल मैदानको पूर्वाधार सुधार भई दमौलीमा फुटबललगायत अन्य खेलकुद गतिविधि सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।
नगरका १४ वटै वडाका टोलीबीच हुने प्रतिस्पर्धाले स्थानीय फुटबल खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति युवापुस्ताको आकर्षण बढाउने विश्वास आयोजकले लिएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताले वडाहरूबीच आपसी सद्भाव, भाइचारा र खेलभावनाको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। बिजेताले रु. एक लाख,उपबिजेताले रु.५० हजार बिजेता खेलाडीले रु.३७ हजार पाँच सयका साथै अन्य विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij