काठमाडौं । डोल्पाको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । हुँदै नभएको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ । जबकी उक्त विद्यालय नै छैन । हालको ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ । तर, लालिगुराँस आधारभूत विद्यालयका नाममा आव २०६७र०६८ मा भवन निर्माणका लागि कुनै पनि बजेट विनियोजन नभएको र भवन पनि नबनेको पाइएको अख्तियारले जनाएको छ । आरोपपत्रमा पजियारसहित तत्कालीन लेखापाल मनिराम कुर्मी, दुर्गा प्राथमिक विद्यालयको २ कोठे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा, समितिका कोषाध्यक्ष संगिता बुढालाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुले काल्पनिक विद्यालय खडा गरी भवन निर्माणका नाममा ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । अनियमिततामा संलग्न चारै जनाविरुद्ध भ्रष्टचार निवारण ऐन २०५९ बमोजिम कैद र रकम असुल गर्न मागदाबी गरिएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij