गाई पालन गरेर डेरी चलाइरहेका भीम आन्दोलनमै ढले
कैलाली । पहिलो सन्तानको बुवा बनेको खुसी अझै ओसरिन नपाउँदै बझाङ दुर्गाथली गाउँपालिका–१ का भिम धामी सधैँका लागि बिदा भए। एक वर्षअघि विवाह गरेका उनलाई हालै मात्र पुत्र लाभ भएको थियो। काठमाडौंको कीर्तिपुरमा आफैं गाई पालन गरेर डेरी सञ्चालन गर्दै परिवारसँगै बस्दै आएका उनी बुधबारको आन्दोलनमा गोली लागेर ढले।
‘मंगलबार १९ जनाको मृत्यु भएको खबर सुनेर हामीले आन्दोलनमा नजान भनेका थियौँ,’ उनका भतिज प्रेम धामीले भने, ‘तर बुधबार बिहानै परिवर्तनका लागि भन्दै केही युवाहरूसँगै आन्दोलनतिर होमिनु भएको रहेछ। कालीमाटीमा गोली लागेर उहाँ ढल्नुभयो।’ बुधबार दिउँसो नै मृत्यु भए पनि परिवारलाई भने बेलुकी मात्रै खबर भएको उनले सुनाए।
भीमको निधनले धामी परिवार विक्षिप्त बनेको छ। एक वर्षअघि विवाह गरेकी श्रीमतीसहित परिवारका सदस्यहरू ठुलो शोकमा छन्।
करिब १० वर्षअघि उनी कोरिया जान तयारीमा थिए। सम्पूर्ण प्रक्रिया पूरा भइसकेको थियो। तर, दाजुले ‘देशमै केही गर्नुपर्छ’ भन्दै सल्लाह दिएपछि उनले कोरिया जाने योजना त्यागे। त्यसपछि गाई पालन सुरु गरेर शुद्ध दूध र परिकार बिक्री गर्ने डेरी व्यवसाय थाले। अर्का एक जना कोरिया जान लागेका युवालाई समेत रोकेर आफूसँगै राखेका थिए।
बिहान सबेरै उठेर दूध संकलन गर्ने, ग्राहकलाई वितरण गर्ने अनि बेलुकी परिवारसँग समय बिताउने उनको दैनिकी थियो। उनले २३ वटा गाई पालेका थिए। परिवारका सदस्यसहित करिब ८–१० जना सोही व्यवसायमा संलग्न थिए। सधैं सबैलाई खुसी पार्ने भीम बुधबार भने सबैलाई रुवाएर बिदा भए।
विदेशबाट आएको रकम र आफैंले लिएको ऋणसहित करिब ५० लाख रुपैयाँ लगानीमा उनले गाई पालन र डेरी सञ्चालन गरेका थिए। तर अझै करिब १० लाख रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी थियो। उद्यमी बनेको झन्डै १० वर्ष बिते पनि उनले सम्पूर्ण ऋण फिर्ता गर्न सकेका थिएनन्।
‘नेपालमै केही गर्नुपर्छ, देशमा समृद्धि र विकास ल्याउनुपर्छ भन्ने उहाँको अठोट थियो। विदेश नगई आफ्नै देशमा सुरु गरेको व्यवसाय राम्रै चलेकै थियो। तर, अझै परिवर्तनका लागि आवाज उठाउँदा ज्यान गुमाउनुपर्यो,’ उनका आफन्तले पीडा सुनाए।
बुधबार प्राण गुमाएका भीमलाई शनिबार काठमाडौंस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
यसअघि, सोही आन्दोलनको पहिलो दिन बझाङकै खप्तडछान्ना गाउँपालिका–७ का २३ वर्षीय सुवास बोहराले पनि जीवन गुमाएका थिए। दुई दिनमै बझाङका दुई युवा आन्दोलनमा ढलेपछि दुवै परिवार अहिले गहिरो शोकमा छन्।
भानुभक्त आचार्य
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij