मकवानपुर। ईन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी-खुर्सानीबारी भित्रि सडकखण्डमा एक बोलेरो गाडी दुर्घटना भएको छ।
शुक्रबार साँझ करिब ५ बजे ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा.प्र.०१-०२८ च ७१९४ नम्बरको बोलेरो गाडी बागमती नदी तर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बागमती नदीमा जमेको फिज (बरफ) बीचबाट गाडी पार गर्दै गर्दा पछाडिको चक्का ढुङ्गामा अड्किएपछि गाडी चिप्लिएर नदीमै भासिएको थियो। घटनाबारे शनिबार दिउँसो करिब १२ बजे सूचना प्राप्त भएपछि प्रहरी चौकी सिस्नेरीबाट टोली खटिएको थियो।
गाडी नदीको पानीमा डुबेको अवस्थामा फेला परेको र मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ। स्थानीयको सहयोगमा डुबेको बोलेरो निकालेर सडक छेउमा राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले भने, ‘गाडी बागमती नदी पारगर्ने क्रममा पछाडिको चक्का ढुङ्गामा परेको र चिप्लिएर नदीमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ। घटना गम्भीर देखिए पनि मानवीय क्षति नभएकाले राहतको विषय हो। गाडीलाई बाहिर निकालेर सुरक्षित स्थानमा राखिएको छ।’
उनका अनुसार दुर्घटनास्थल प्रहरी चौकी सिस्नेरीबाट करिब ७ किलोमिटर पूर्वमा पर्छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ।-डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij