Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पाँचतारे होटलमा ‘ग्याम्बलिङ’ गराउने भारतीय गिरोह प्रहरीको नियन्त्रणमा

  • 307
    SHARES
  • 307 Shares
  • काठमाडौं । भारतीय नागरिकलाई काठमाडौंका विभिन्न पाँचतारे होटलमा राखेर ‘ग्याम्बलिङ’ गराउने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुलाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले जनाएको छ ।

    ठमेलको छायाँ सेन्टरस्थित होटल अलफ्टबाट उक्त गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले काठमाडौंका विभिन्न पाँचतारे होटलमा २३० वटा कोठा बुक गरी त्यति नै सङ्‍ख्यामा भारतीय क्यासिनो खेलाडीलाई ल्याउने र क्यासिनोभित्र सूचना प्रविधिको दुरुपयोग गर्दै विभिन्न प्रकारका प्रतिबन्धित आर्थिक कारोबार गराउने गरेको प्रहरीले जनाएको छ ।

    उनीहरुले ‘क्यासिनो इभेन्ट’ का नाममा भारतीय नागरिकलाई काठमाडौंमा ल्याउने गरेका हुन् । त्यसरी ल्याइएका खेलाडीको जहाज, होटल र खानपानको व्यवस्था उक्त गिरोहले निःशुल्क गर्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।

    त्यसबाहेक खेल्न आउने ग्राहकको मनोरञ्जन र शारीरिक सन्तुष्टिको व्यवस्थापन समेत उक्त गिरोहले गर्ने गरेको प्रहरीको भनाइ छ । क्यासिनो खेल्न ल्याएका भारतीय नागरिकका लागि अलोफ्टसहित र्‍याडिसन, मेरियटलगायतका होटलमा कोठा बुक गरिएको थियो ।

    पक्राउ पर्नेमा भारतीय नागरिक सुरेश महाजन, प्रमोद मोरिया, दिनेश बर्मा र विक्रम सिंह छन् ।

    क्यासिनो वाल्डोका खेल सहजकर्ताको जागिरमा रही अन्य प्रकारका ‘डिलिङ’ गर्ने नेपाली नागरिक चिजा खड्का र भवानी पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।

    उनीहरुले सेन्सरयुक्त उपकरणबाट नेपालमा प्रतिबन्धित विभिन्न प्रकारका जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । नेपालको फितलो जुवा ऐनको फाइदा उठाउँदै भारतीय गिरोहले त्यस्तो धन्दा चलाएको अनुसन्धानरत एक प्रहरीले बताए ।

    उक्त प्रकरणको विस्तृत विवरण बुधबार पत्रकार सम्मेलनमार्फत उपलब्ध गराइने भएको छ । प्रहरीले क्यासिनो खेल्न आउने केही भारतीयलाई सामान्य सोधपुछपछि रिहा गरेको छ ।
     नेपाल प्रेस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार