तनहुँ जिल्ला अदालतले अत्यावश्यक बाहेक अन्य सेवाहरु आज देखि पन्ध्र दिनको लागि बन्द गरिएको जनाएको छ । कार्यालयले अत्यन्तै जरुरी सूचना जारी गर्दै माघ १३ देखि २८ गते सम्मको लागि अदालतको कार्य प्रकृति अनुसार अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह बन्द गरिएको हो । अदालतका जिल्ला न्यायाधीस लगायत एघार जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि कार्यालयबाट प्रवाह गरिने सेवामा केही प्रभावित भएको शाखा अधिकृत हरिश्चन्द्र गौतमले जानकारी दिए । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्टका कारण बिषम असहज परिस्थिति उत्पन्न भई रहेको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड अपनाइएको उनले बताए । सर्बोच्च अदालतबाट माघ ४ को प्रेषित पत्रको सन्दर्भमा अदालतमा हुने उपस्थिति र भीडभाडलाई मध्यनजर गरी कार्यालयमा आउने सेवाग्राही,अदालतमा कार्यरत जनशक्ति,कानुन व्यवसायी तथा अदालतमा आउने अन्य सरोकारवालाहरुको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनीकरणको लागि सतर्कता अपनाइएको सो कार्यालयले जनाएको छ । नयाँ मुद्दा दर्ता गर्ने कार्य र तारेख लिने दिने कार्यलाई बन्द गरिएको हो । अदालतबाट प्रदान गरिने सेवा तथा सुनुवाईका कार्यहरु व्यवस्थित ढंगले सिमित रुपमा संञ्चालन गर्न उपयुक्त देखिएकोले अत्यावश्यक सेवा प्रवाह गर्न लागिएको शाखा अधिकृत गौतमले बताए ।
के के सेवा प्रवाह गरिन्छ ?
उक्त कार्यालयले म्याद थप,पक्राउ पूर्जी,कल डिटेलको अनुमति र जरुरी पक्राउ पूर्जीको समर्थन गर्ने,अभियोगपत्र दर्ता गर्ने,अभियोगपत्रसाथ पेश भएका अभियक्तको बयान लिने,थुनछेक आदेश गर्ने जनाइएको छ । त्यसैगरी,बन्दी प्रत्यक्षीकरण संम्बन्धी निवेदन दर्ता गर्ने र त्यस उपर सुनुवाई गर्ने,प्रहरीद्धारा पक्राउ परी आएका फरार प्रतिबादीको बयान लिने तथा थुनछेक गरिनेछ । त्यसैगरी,फौजदारी कार्य विधी संहिता २०४४ को दफा १५५ बमोजिमका निवेदन लिने र त्यस उपर सुनुवाई गर्ने,मिलापत्र,मुद्दा फिर्ता,डिसमिस तथा तामेली संम्बन्धी काम कारवाही गर्ने लगायतका सेवा प्रवाह गरिने भएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij