जनचाहना न्यूज
दमौली ११ फागुन
व्यास नगरपालिका वडा नं १३ बेनीकोट स्थित बेनीमित्र प्राथमिक विद्यालयले आफ्नो ५३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कुनै समय विद्यार्थी सङ्ख्या न्यून भएर अस्तित्वकै सङ्कट झेलिरहेको यस विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरमा मारेको फड्कोलाई स्थानीयले उत्सवको रूपमा मनाएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेख बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयको यो बदलिँदो स्वरूपको चर्चा गरियो।
कार्यक्रमका प्रमुख अतिथि एवं व्यास नगरपालिका वडा नं १३ का अध्यक्ष वसन्त बहादुर आलेले विद्यालयको प्रगतिप्रति हर्ष व्यक्त गर्दै हिजो १३ जना मात्र विद्यार्थी रहेको यस विद्यालयमा हाल ४३ जना पुग्नु गुणस्तर सुधारको बलियो प्रमाण भएको बताउनुभयो। उहाँले भन्नुभयो, विद्यार्थीको पढाइको जग बलियो हुँदा मात्र उपलब्धि राम्रो हुन्छ। हामीले आफ्ना नागरिकलाई गुणस्तरीय शिक्षा दिन सक्यौँ भने मात्र देश बन्छ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्दै व्यास नगरपालिकाकी कार्यपालिका सदस्य कमला देवी घर्तीले निजी विद्यालय ९बोर्डिङ० को मोह त्यागेर गाउँकै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नु गौरवको विषय भएको बताउनुभयो। बेनीकोट क्षेत्र सुन्तलाको हब भएकाले सुन्तला बिक्रीको आम्दानीबाट थोरै(थोरै सहयोग जुटाएर विद्यालयको स्तरोन्नति गर्न उहाँले स्थानीयलाई अपिल गर्नुभयो। सोही अवसरमा उहाँले विद्यालयका लागि २५ हजार रुपैयाँको अक्षयकोष रकम समेत हस्तान्तरण गर्नुभयो।
त्यसैगरी, आप्रवासी तनहुँका संयोजक विष्णु थापाले १० हजार रुपैयाँको अक्षयकोष रकम प्रदान गर्दै गाउँमै बोर्डिङ सरहको गुणस्तरीय शिक्षा उपलब्ध भएपछि टाढा धाउनु पर्ने बाध्यता हटेको बताउनुभयो। बेनीकोट भञ्ज्याङ रिङ रोडका अध्यक्ष यम बहादुर रानाभाटले मर्ज हुने अवस्थामा पुगेको विद्यालयलाई जुझारु युवा शिक्षकहरूको मेहनत र लगनशीलताले पुनर्जीवन दिएको स्मरण गर्नुभयो। सिद्धबेनीका प्रधानाध्यापक रोदन थापाले बेनीमित्रलाई उत्कृष्ट शैक्षिक हबको रूपमा विकास गर्न र यहाँका विद्यार्थीलाई थप छात्रवृत्ति प्रदान गर्न आफूहरू सधैँ तत्पर रहेको बताउनुभयो।
वार्षिकोत्सवकै अवसरमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा विशेष योगदान पुर्याउने शिक्षकद्वय ईश्वर बास्तोला र बलिसरा थापालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो। सहायक प्रधानाध्यापक मधुमाया रानाभाटले आफ्नो तीन दशक लामो शैक्षिक अनुभव प्रस्तुत गर्नुभएको कार्यक्रममा शिक्षक कविता आलेले विद्यार्थीहरूलाई सर्वाङ्ग सुन्दर व्यायामको प्रशिक्षण दिनुभएको थियो। शिक्षक मिना थापाले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक ईश्वर बास्तोलाले गर्नुभएको थियो।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij