जनचाहना न्यूज
दमौली १८ भदौ
तनहुँको व्यास नगरपालिका–१३, बेनीकोटस्थित श्री बेनीमित्र आधारभूत विद्यालयले आर्थिक वर्ष २०८२र०८३ को सामाजिक परीक्षण सम्पन्न गर्दै विद्यालयको आय–व्यय विवरण सार्वजनिक गरेको छ। विद्यालयले आफ्नो आर्थिक गतिविधि, शैक्षिक उपलब्धि तथा समग्र विद्यालयीय अवस्थालाई अभिभावक र सरोकारवालासमक्ष पारदर्शी रूपमा प्रस्तुत गर्ने उद्देश्यले सामाजिक परीक्षण गरेको हो। सामाजिक परीक्षणका क्रममा विद्यालयको वार्षिक आय–व्यय, शैक्षिक गतिविधि, विद्यार्थीको सिकाइ अवस्था, विद्यालय व्यवस्थापन तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा समेत छलफल गरिएको थियो।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२र०८३ मा विद्यालयको कुल आय रु। ३४ लाख ४८ हजार ०६३ रहेको छ। विद्यालयको आम्दानीतर्फ व्यास नगरपालिका तथा अन्य निकायबाट प्राप्त विभिन्न अनुदान तथा कार्यक्रमगत रकम, शिक्षक तलब तथा भत्ता, दिवा खाजा, पाठ्यपुस्तक, बाल विकास, विद्यालय सहयोगी, सञ्चार तथा इन्टरनेट, एसआईपी, छात्रवृत्ति, पोषाकलगायत विभिन्न शीर्षकबाट प्राप्त रकम समावेश गरिएको छ।
त्यसैगरी विद्यालयले प्राप्त रकमबाट शिक्षक तथा कर्मचारीको तलब–भत्ता, दिवा खाजा, बाल विकास, विद्यालय सहयोगी, पाठ्यपुस्तक, छात्रवृत्ति, सञ्चार तथा इन्टरनेट, लेखापरीक्षण, एसआईपी, मसलन्द तथा विभिन्न शैक्षिक र प्रशासनिक गतिविधिमा खर्च गरेको विवरण प्रस्तुत गरेको छ।
सामाजिक परीक्षणका क्रममा विद्यालयले सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप, विद्यार्थीको शैक्षिक प्रगति, विद्यालयको भौतिक तथा शैक्षिक व्यवस्थापन र आगामी शैक्षिक योजनाका विषयमा समेत जानकारी गराइएको थियो। विद्यालयका गतिविधि तथा आर्थिक कारोबारबारे अभिभावक र सरोकारवालाबाट आएका सुझावलाई आगामी योजनामा समेट्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा थप जोड दिने बताइएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किशोर सुनाम, शिक्षक–अभिभावक संघका अध्यक्ष सुविलाल आले तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर थापा लगायत शिक्षक, अभिभावक र सरोकारवालाहरूको सहभागिता रहेको थियो।
विद्यालयले सामाजिक परीक्षणलाई केवल आय–व्यय सार्वजनिक गर्ने प्रक्रियाका रूपमा मात्र नभई विद्यालयको समग्र अवस्था, उपलब्धि र चुनौतीबारे समुदायसँग प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ।
सामुदायिक विद्यालयका आर्थिक तथा शैक्षिक गतिविधि नियमित रूपमा अभिभावक र समुदायसमक्ष सार्वजनिक गर्ने अभ्यासले पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्नुका साथै विद्यालय र समुदायबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij