Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अभिभावकको घरघरमा पुगेर गुनासा सुन्दै बेदव्यासका शिक्षक

  • 435
    SHARES
  • 435 Shares
  • जनचाहना न्यूज
    तनहुँ २६ चैत्र
    व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक विद्यालयले अभिभावकको घरदैलोमै पुगेर गुनासा सुन्न थालेपछि स्थानीय समुदायमा उत्साह देखिएको छ । 
    विद्यालयले शैक्षिक सत्र २०८३ को भर्ना अभियान अन्तर्गत चुरेखोल्सी टोलमा आयोजना गरेको घरदैलो तथा सर्वेक्षणका क्रममा अभिभावकहरूले पछिल्लो समय विद्यालयको सुधारप्रति खुसी व्यक्त गरेका हुन् । 
    कार्यक्रममा सहभागी स्थानीय अभिभावक तुलसी प्रसाद पौडेलले निजी विद्यालय (बोर्डिङ) को जस्तै सुविधा र शैक्षिक वातावरण सरकारी विद्यालयले दिन थालेपछि आफ्ना सन्तानलाई त्यहीँ भर्ना गर्ने मनस्थिति बनाएको बताउनुभयो । 
    “विद्यालय प्रशासन आफैँ घरमा आएर गुणस्तरीय शिक्षा र सेवाको ग्यारेन्टी लिने प्रतिबद्धताले अभिभावकहरूमा विश्वास बढेको छ ।” उहाँले भन्नुभयो । 
    सर्वेक्षणका क्रममा चुरेखोल्सी टोलका १८ जना बालबालिकाको परिवारले बोर्डिङको जस्तै यातायात र अन्य सुविधा सामुदायिक विद्यालयले पनि उपलब्ध गराएमा आफ्ना बालबालिकालाई पठाउन तयार रहेको धारणा राखेका  थिए ।
    अभिभावकको यही इच्छालाई सम्मान गर्दै वडा सदस्य गौकुमारी न्यौपानेले वडाको तर्फबाट यातायात (बस) को सुविधा उपलब्ध गराउन पहलकदमी थालिने बताउनुभयो ।  
    विद्यालयकी प्रधानाध्यापक सीता वाग्लेले विद्यालयमा अहिले खेलकुद, खाजा र शिक्षण विधिमा विशेष सुधार गरिएकाले प्रभावकारीता बढेको बताउनुभयो । 
    अब बोर्डिङकस्तरमा जस्तै शिक्षा दिन सामुदायिक विद्यालय तयार रहेको छ,उहाँले भन्नुभयो,“यसका लागि विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,शिक्षक र विद्यार्थीले उत्तिकै जिम्मेवार बहन गर्न आवश्यक छ ।” 
    कार्यक्रममा वि.व्य.स.अध्यक्ष हरिश चन्द्र कार्की, लेखाजोखा संयोजक ईश्वर बास्तोला र चुरेखोल्सी टोल अध्यक्ष हरिराज पौडेल सहितको टोलीले सरकारी विद्यालयप्रति हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको औल्याएका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार