Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँ शुक्लागण्डकीका बीस सुकुम्बासीको उठिबास !

  • 282
    SHARES
  • 282 Shares
  • प्रतिकात्मक तस्बीर ः 

    डिभिजन वन कार्यालय तनहुँले सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका बीस घर सुकुम्बासी बस्ती हटाएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ मा रहेको तालडाँडा दादरपाखा कसेरी सामुदायिक वन क्षेत्र अतिक्रमण गरी घर बनाएर बस्दै आएको उक्त बस्ती हटाइएको हो । शुक्लागण्डकी नगरपालिका ३ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले स्थानीय तहलाई खबर नै नगरी बस्ती हटाउनु अमानवीय कार्य भएको बताए । उनीहरुको बस्ने वैकल्पिक स्थानको खोजी नगरी उठीबास गर्नु गलत हो । उनले भने ‘जनप्रतिनिधीसँग एक पटक परामर्श गरिनुपर्दथ्यो,त्यो हुन नसक्दा उनीहरुको बिचल्ली बनाउने कार्य भएको छ ।  वन क्षेत्रलाई अतिक्रमण गर्न नपाइने अतिक्रमण गरिएको जग्गा दर्ता गर्न नपाईने कानुनी प्रावधान अनुरुप ती बस्तीलाई हटाइएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । तालडाँडा दादरपाखा कसेरी सामुदायिक वनक्षेत्रमा पाँच वर्षदेखि भूमिहीन दलित तथा सुकुम्वासीले टहरा निर्माण गरेर बस्ती बसाउँदै आएका थिए । स्थानीयको अतिरिक्त अन्य जिल्लाबाट समेत सुकुम्वासी आएर बस्ने क्रम बढ्दै गएपछि  वनक्षेत्र अतिक्रमणबाट जोगाउन बस्ती हटाएको सबडिभिजन वन कार्यालय बेलचौताराका प्रमुख विनय बहादुर अधिकारीले बताए ।  वनक्षेत्र अतिक्रमण भएको खण्डमा कारवाही गर्ने अधिकार प्राप्त भएकाले पूर्व सूचना दिएर वस्ती हटाएको उनले बताए ।  सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष युवराज भट्टराईले वन क्षेत्र अतिक्रमण बढ्न थालेपछि बस्ती हटाएको बताए । सो स्थानमा रुकुम, रोल्पा, चितवन र गोरखा लगायत देशका विभिन्न स्थानबाट आएका सुकुम्वासीले टहरा निर्माण गरेर बस्न थालेका थिए । बस्ती हटाउन जिल्ला प्रशासन कार्यालयको एक टोली समेत उक्त स्थानमा पुगेको थियो । केही बेर स्थानीयबासीले अवरोध सिर्जना गर्न खोजेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार