जनचाहना न्यूज
दमौली १९ असार
व्यास नगरपालिका–१३ बेनीकोटस्थित बेनीमित्र प्राथमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा विद्यार्थीहरूमा प्रकृतिप्रति सकारात्मक सोचको विकास गर्ने उद्देश्यले वृक्षारोपण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक किशोर सुनामको नेतृत्वमा सम्पन्न कार्यक्रममा शिक्षकहरू विदुर राना, ईश्वर बास्तोला, नरबहादुर थापा, बलिसरा थापा, मिना थापा र पुनम थापा तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा धुपी, बिरेन्द्र फूल, नारेश्वर, अशोका तथा गोलमोहर प्रजातिका बिरुवाहरू रोपिएका छन्।
विद्यालय परिसरलाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले सम्पन्न गरिएको यस कार्यक्रमले वातावरण संरक्षण, हरियाली विस्तार तथा जैविक विविधता संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
सहभागीहरूले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्य मात्र नभई भावी पुस्ताका लागि स्वच्छ, हराभरा र स्वस्थ वातावरण निर्माण गर्ने अभियान भएको उल्लेख गरेका थिए। विद्यालयले रोपिएका बिरुवाको नियमित संरक्षण, स्याहार–सम्भार तथा व्यवस्थापनमा विशेष ध्यान दिँदै आगामी दिनमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
विद्यालय परिवारका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वातावरण संरक्षणप्रतिको जिम्मेवारीबोध, प्रकृतिप्रेम, व्यवहारिक सिकाइ तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij