जनचाहना न्युज
तनहुँ २० असार
जिल्लाको भीमाद नगरपालिका वडा नं ५ र ६ का एक सय भन्दा बढी घरधुरी नदी कटानका कारण झण्डै एक सय सात घरधुरी उच्च जोखिममा रहेका छन् । भीमाद नगरपालिका–६ बजार क्षेत्रको कुमार चोकमा सेतीनदीका कारण करिब पचासी र भिमाद– ५ अन्टेन खोला नजिकको कपरादीका बाइस घरधुरी दलितबस्ती जोखिममा परेका हुन् ।
बर्षायामको समयमा खोला र नदीमा आएको बाढीले बस्ती क्षेत्रमा कटान गर्न थालेपछि जोखिम बढ्न थालेको हो । अघिल्ला बर्षहरुमा खोला,नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुन ः बर्षायाम शुरु भएसंगै बस्ती क्षेत्रमा जोखिम बढ्न थालेको हो ।
सेतीनदीले कटान गरेका कारण भीमाद–६ कुमार चोकका धेरै बासिन्दाहरु बिस्थापित हुने खतरामा रहेको छ ।
केही मानिसहरु दिउँसो व्यापार गर्ने र साँझपख अन्यत्रै सुरक्षित स्थानमा गएर बस्नुपर्ने बाध्यता रहेको भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले जानकारी दिइन् ।
नगरपालिकाको बजेटले मात्रै संम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणको लागि आवश्यक पहलकदमी भैरहेको उनले बताइन् ।
सेतीनदी कटानका कारण जोखिम बनेको बस्ती जोगाउनको लागि डिपिआर भएपनि संरक्षण कार्य हुन सकेको छैन् । उनले भनिन् ‘बस्ती जोगाउन नगरपालिकाले गण्डकी प्रदेश र संघीय सरकारसंग पनि समन्वय गरी अघि बढिरहेका छौ ।’
त्यसैगरी भीमाद–५ का दलितबस्तीका करिब बाइस घरधुरी जोगाउनको लागि अन्टेन खोलाले कटान गरेको स्थानमा पर्खाल लगाउने कार्य शुरु गरिएको उपप्रमुख खनालले जानकारी दिइन् ।
हाल नदी घुमेको उक्त स्थानमा चेक ड्याम निर्माण गरी बस्ती क्षेत्रलाई जोगाउन पहलकदमीका प्रयासहरु भैरहेको भीमाद नगरपालिका कार्यालयले जनाएको छ ।
बस्ती क्षेत्र संरक्षणको लागि जमिन तलबाट कंक्रिट ढलान निर्माण गर्नुपर्ने देखिएकोले ठुलो बजेटको आवश्यक पर्ने देखिएको भीमाद पालिकाका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।
नदीले भत्काउन नसक्ने गरी बस्ती संरक्षण गर्नुपर्ने देखिएकोले त्यसको लागि नगरपालिकाको तर्फबाट सक्रिय रुपमा लागिरहेको भीमाद नगरपालिकाका नगरप्रमुख सुवेदीले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij