Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सन्र्दभ साउन ११ ः हलो क्रान्तिका नायक अधिकारी

  • 287
    SHARES
  • 287 Shares
  • सोमकान्त शर्मा
    जनचाहना न्युज
    हलो जोत्नु, गोरु नार्नु, जुवा मिलाउनु, अनौँ समाउनु जस्ता शब्दसित अपरिचित, फेसबुक चलाउँदा चलाउँदै हत्केलामा फोरा परेका पुस्तालाई हलो क्रान्ति दिवसको शुभकामना के अर्पण गर्नु र खै । जसलाई असार साउनमा हिलोमा खेलेको त के एक मुठी रोपो माटोमा गाडेको, आली लगाएको, बाउसे गरेको, भदौँ रे झरीमा खेत गोडेको मात्र होइन कात्तिकमा धान काटेको र मङ्सिरमा दयेरे भएको पनि अनुभव छैन । 
    अनुभव जस्तो बटुल्दै रहे पनि घुमिफिरी आउने साउन ११ ले हलो क्रान्ति दिवसको सम्झना गराइहाल्छ । ७३ वर्ष अघि २००६ साल साउन ११ गते लमजुङ दुरडाँडास्थित अर्चल्यानी भन्ने ठाउँमा पण्डित तोयनाथ अधिकारीले दुई सियो जोतेर ब्राहमणले हलो जोत्ने कार्य प्रारम्भ गर्नुभएपछि ब्राहमणले हलो जोत्नु हुँदैन भन्ने सामाजिक मान्यता मात्र भंग भएन यसले राजनीतिक वृत्तमा राम्रै डिग्रीको पराकम्पन ल्याइदियो । 
    हलो क्रान्तिका नायक तोयनाथ अधिकारीका छोरा सोमकान्त शर्माद्वारा लिखित पुस्तकमा उल्लेख भएअनुसार त्यस दिन मायानाथ पौडेलले पण्डित तोयनाथ अधिकारीको दुुरडाँडाको बाटुले गह्रोमा पूर्वतिर फर्काएर हल गोरु नार्नुभयो । हल गोरु र हलो स्थानीय हरिलाल पौडेलका थिए । तोयनाथ अधिकारीले दुई सियो लगाएर ल अव फुक्यो भनेर छोडी दिएपछि शेषकान्त अधिकारी, हरिभक्त अधिकारी, श्रीकान्त अधिकारी, मायानाथ पौडेललगायतका २७ जना ब्राहमणले सामूहिक रुपमा हलो जोत्नुभएको थियो । यही दिनको सम्झनामा साउन ११ गते दुरडाँडामा हलो क्रान्ति दिवस मनाउने गरिएको छ । 
    हलीको अभावले खेती लगाउन नपाइने, हलीका लागि पालो पर्खनुपर्ने, जातको कारणले जोत्न नपाइने र खेतीबाहेक परिवारको जीवन गुजारा चलाउने कुनै उपाय नभएपछि किसानको उत्थान गर्ने मुख्य उद्देश्यले यो क्रान्ति गरिएको थियो । खाना खाएपछि त्यस्तै ११ र १२ बजेतिर बारीमा हल गोरु नारिएको थियो । त्यस दिन कुन्छा, परेवाडाँडा, कोइरालाफाँट र तनहुँका रतनपुर, रुपाकोट, तार्कुघाट, मानेचौकालगायतका ठाउँका मानिसहरु यो अभियानमा सहभागी हुन दुरडाँडा पुगेका थिए । त्यो बेला जोत्नेलाई नजोत्नेले उल्याए र गीत नै बनाए । गीत यस्तो रहेछ । 
    शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे
    तोयनाथ पण्डित हलो जोती बिग्रे
    त्यति बेला ब्राहमणहरुले हलो जोत्नु हुँदैन, जोते जात जान्छ भन्ने भन्ने अन्धविश्वास परम्परा थियो । प्रचलित कानुनले त्यसो भन्दैनथ्यो, धर्मशास्त्रमा त्यस्तो प्रावधान थिएन र त्यो परम्परा व्यवहारिक पनि थिएन । अन्तत ः यसले खेतीमा तल्लो जातका मानिसलाई हली लगाउने परम्परामा मात्र सुधार भएन । ब्राहमण आफैले हलो जोते । खेत बाझो हुने क्रममा सुधार ल्यायो र यसले उत्पादन बृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा नै सुधार गरिदियो ।
    त्यसबेला जोत्नेलाई भात ठेगियो, माइत आएको छोरी घर जान पाएनन् । घर गएका बुहारी माइत आउन पाएनन् । विवाह गर्न उमेर पुगेका युवा युवतीको विवाह रोकियो । जोतेको समयमा हेर्न जानेलाई समेत भात ठेगियो । कतिले त गएका थिएनौँ भनेर ढाँटेर विवाह गरे । हलो नजोत्ने ब्राहमणहरुले यो कुरा सरकारमा पु¥याए । जोतेको छ महिनापछि फेरी दुरडाँडामै उपल्लो गाउँको ठूलो गरामा थप हलाकर्षण समारोह भयो । जसमा थपिएका केही पण्डितहरु घरबाट निर्वासित भएर बर्मा समेत पुगे । 
    जे होस् प्रविधिमा संसारले व्यापक छलाङ् मारे पनि गाउँ घरमा काठे हलो दादे र जुवालाई विस्थापित गर्न सकिएको छैन । हलो क्रान्ति दिवस किसानको चाडपर्व हो । यस अवसरमा सबैलाई मुरी मुरी शुभकामना ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार