जनचाहना न्युज
तनहुँ १९ साउन
व्यास नगरपालिका–१ चारकुने स्थित जलेश्वर जेष्ठ नागरिक दिवा सेवा केन्द्रको भवन निर्माणको क्रममा झण्डै दुई लाख भुक्तानी नगरिएपछि जेष्ठ नागरिकका पदाधिकारीहरु शुक्रबार पूर्वाधार विकास कार्यालय तनहुँमा पुगेका छन् ।
सम्झौता अनुरुप काम गरेपनि कार्यालयका इन्जिनियरले फिल्ड अनुरुपको इष्टिमेट पेश नगरी भुक्तानी कार्य रोकेको उनीहरुले आरोप लगाएका छन् । गत साउन १६ गते सोमबार निर्माणधीन जेष्ठ नागरिक भवनको झण्डै रु दुई लाख गायब शीर्षकमा यस जनचाहना न्युज डटकमले समाचार प्रकाशित गरेको थियो ।
कार्यालयका इन्जिनियर प्रदीप पौडेल र मिलन हड्खलेले भवनको रेखदेखको जिम्मा पाएकोले सबै काम पूरा भएकोले भुक्तानी लिन बोलाएपनि सम्झौता अनुरुपको भुक्तानी पाउन नसकेको केन्द्रका अध्यक्ष अध्यक्ष बाबुराम मिश्रले जानकारी दिए ।
फिल्डमा सबै कुरा ठिक छ रकम भुक्तानी हुन्छ भनेर आश्वसन दिएपनि सम्झौता भएको रु.६ लाख १९ हजार मध्ये रु.चार लाख २६ हजार मात्रै भुक्तानी गरिएको उनले बताए ।
दुई जना इन्जिनियरलाई सोध्दा एकले अर्कालाई दोषारोपण गरेर उम्किने काम गरेको उनले बताए । जेष्ठ नागरिकको भवन निर्माणको लागि माया गरी दिएको रकमको दुरुपयोग भएको भवन अनुगमन समितिका संयोजक रामबहादुर जिसीले बताए ।
सम्झौता गरेदेखि सम्झौता अनुरुप भवन निर्माण भए नभएको भनि इन्जिनियरलाई पटक पटक सुझाब दिदाँ सबै ठीक छ भनेपनि अहिले आएर दुख दिने कार्य गरिएको उनले बताए । इन्जिनियरका कारण सरासर बदमासी भएकोले भुक्तानी पाउनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
शुक्रबार जेष्ठ नागरिकका पदाधिकारी तथा सदस्यहरु सहभागि भई पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश कुमार घिमिरेलाई भेटेर छलफल गरेका हुन् । कार्यालयबाट भुक्तानी नहुँदा काममा लगाइएका व्यक्तिलाई भुक्तानी दिन नसकिएको भन्दै भुक्तानीको लागि पहल गरिदिन आग्रह गरेका थिए ।
सो अवसरमा कार्यालय प्रमुख घिमिरेले कामका आधारमा भुक्तानी गरिएकोले चित्त नबुझे गण्डकी प्रदेश कार्यालयमा जान सुझाब दिए । हामीले यहाँबाट चाहेर पनि केही गर्न नसक्ने हुँदा प्रदेश कार्यालयमा गएर समस्या राख्न आग्रह गरे । भवन निर्माणको लागि आएको रकम काम अनुरुपको खर्च भई बाँकी बजेट प्रदेशको खातामा गएको उनले बताए । दुबै इन्जिनियरलाई अस्थायी नियुक्ति गरिएको र उनीहरुको असार ३१ गतेबाट जागिर हटिसकेको हुनाले कार्यालयमा उनीहरुलाई बोलाउन नसकिएको सो अवसरमा उनले जानकारी गराए ।
संम्बन्धित इन्जिनियरलाई बोलाएर छलफल नगरिनुले पनि केही आशंका उव्जाएको जलेश्वर जेष्ठ नागरिक दिवा सेवा केन्द्रका सचिव रामकृष्ण सापकोटाले बताए । जेष्ठ नागरिकका पदाधिकारीहरुले शुक्रबार नै निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेलाई समेत भेटेर उक्त समस्याको बारेमा जानकारी गराइएको उनले बताए ।
भवनको माथिल्लो तलाको ढलानको लागि इष्टिमेट अनुरुप काम सम्पन्न गरेपनि रु.चार लाख छब्बीस हजार मात्रै रकम भुक्तानी गरिएको सो समितिले जनाएको छ ।
कहिले खातामा हाल्दिसकेको छ भन्ने कहिले हुदैछ भन्दै पटक पटक दुख दिने काम भएको उनीहरुले सो अवसरमा बताएका थिए । सम्झौता अनुरुपको चेकमा रकम उल्लेख नभएपछि शंका लागि कार्यालय प्रमुख घिमिरे समक्ष जानकारी गराउँदा म बुझौंला तपाईको फोन नम्बर दिनू,म बुझेपछि तपाईलाई बोलाएर छलफल गरौला भन्ने आश्वसन दिएपनि उनले एक पटक पनि सम्पर्क नगरेको केन्द्रका अध्यक्ष मिश्रले बताए ।
सम्झौता इष्टिमेट अनुरुप काम सम्पन्न गरी डोर हाजिर,बिल भरपाई,वडाको सिफारिस र अनुगमन समितिले सदर गरी सम्पन्न भएको फोटो सहितको कागजपत्र पेश गरेपनि सम्झौता अनुरुपको रकम भुक्तानी नहुँदा काममा लगाएका व्यक्तिलाई कसरी रकम दिने भन्ने चिन्ताले सताएको केन्द्रका अध्यक्ष मिश्रले दुखेसो पोखे ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij