जनचाहना न्युज
तनहुँ २२ साउन
जनता आवास कार्यक्रम अन्र्तगत तनहुँमा दुई सय छयासी घर निर्माण गरिएको छ । आर्थिक अवस्थाले बिपन्न भएका र घर बनाउन सक्ने हैसियत नभएका गरीब व्यक्तिहरुको घर निर्माण गरेको हो ।
जिल्लाका दश वटै पालिकामा जनता आवास कार्यक्रम अन्र्तगत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी एवं इन्जिनियर धनमाया मिश्रले जानकारी दिइन् ।
आर्थिक बर्ष ०७५÷०७६ मा संघ सरकार मार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भई आएपछि पूर्वाधार विकास कार्यालयले घर निर्माण कार्य थालेको उनले बताइन् ।
निर्माण गरिएका घरमध्ये दोश्रो किस्तामा चार,तेश्रो किस्तामा बाउन्न र अन्तिम किस्ता लैजान बाँकी एक सय बयालिस घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु.एक करोड सन्ताउन लाख बजेट बिनियोजन गरिएको छ ।
दुई भवन निर्माण सम्पन्न
पूर्वाधार विकास कार्यालयले सम्झौता भएका दुई वटै भवनको निर्माण कार्य सम्पन्न गरेको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तनहुँको भवन रु.दुई करोड तीस लाख एकाउन्न हजारको लागतमा सम्पन्न गरेको हो । विसं ०७७ असोज १ गते सम्झौता गरिएको उक्त भवनको विसं ०७८ फागुन ३० गते निर्माण कार्य सम्पन्न गरेको हो ।
त्यसैगरी भिमाद सामुदायिक भवनको रु.एक करोड तेत्तीस लाख त्रिसठ्ठी हजारको लागतमा निर्माण कार्य सम्पन्न गरिएको छ । स्टकचर थप गर्नुपरेका कारण सम्झौता भन्दा बढी लागत बृद्वि हुन गएको इन्जिनियर मिश्रले बताइन् ।
दुई झोलुङ्ग पुल निर्माण सम्पन्न
त्यसैगरी जिल्लामा निर्माणधीन तीन वटा झोलुङ्गे पुलमध्ये दुई पुलको निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ मा रु.सतहत्तर लाख एकहत्तर हजारको लागतमा उक्त पुल निर्माण गरिएको हो ।
जिल्लाको भानु नगरपालिका–३ खहरे देखि नारायणचौर गोरखा जोड्ने पुल रु.एक करोड छब्बीस लाख पचास हजारको लागतमा सम्पन्न गरिएको छ । उक्त पुल निर्माण पश्चात सयौं मानिस लाभान्वित भएको बताइएको छ ।
त्यसैगरी व्यास नगरपालिका वडा नं ५ र १० जोड्ने मादीनदी माथि निर्माण गरिएको झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पुल निर्माणको लागि विसं ०७६ पौष ६ गते सम्झौता भएपनि बिद्युतको हाइटेन्सन सार्ने बिषयमा बिवाद हुँदा पुल निर्माण कार्यमा ढिलाई हुन गएको कार्यालय प्रमुख दिनेश कुमार घिमिरेले जानकारी दिए । अहिले बिद्युत पोल सार्नको लागि जग्गा दिने सहमति भएपछि निर्माण कार्य तीब्र गतिमा अघि बढाइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij