सुर्खेत ३ भदौ
डिभिजन वन कार्यालय सुर्खेतको कार्यालयभित्र बिहीबार वीरेन्द्रनगर नगरपालिका–१३ का ५८ वर्षीय धनीराम लामिछाने मृत भेटिएको घटनालाई लिएर सहायक वनअधिकृतसहित चार जनाविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएका छन् । शुक्रबार मृतकका आफन्तले सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी र सुरेन्द्र राजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । लेकबेशी नगरपालिका–१० घर भएका लामिछाने हाल वीरेन्द्रनगरमा बस्दै आएका थिए । वन मुद्दामा पक्राउ परेका उनी बिहीबार दिउँसो मृत भेटिएपछि आफन्तले आन्दोलन गरिरहेका छन् । लामिछाने दम्पतीलाई मदन भण्डारी राजमार्गमा टाचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले पक्राउ गरेका थिए । कर्मचारीको कुटपिटका कारण नै लामिछानेको मृत्यु भएको आफन्तको आरोप छ ।
मृतक लामिछानेका भाइ रामप्रसाद लामिछानेले वनका कर्मचारीको कुटपिटबाट मृत्यु भएपछि आत्महत्या देखाउन डोरीले झुण्ड्याइएको दाबी गरेका छन् । यता डिभिजन वन कार्यालयले भने उक्त भनाइमा सत्यता नभएको बताएको छ । कार्यालयका प्रमुख मुनबहादुर रावतले लामिछानेलाई स्थानीय जनप्रनिधि र आफन्तको जमानीमा छोड्ने कुरा भएको तर, उनी झुण्डिएको अबस्थामा फेला परेको बताए । यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्की आफू आन्दोलनमै बीचमा रहेको चार जनाको विरुद्धमा किटानी जाहेरी परेको बताउँछन् । रातोपाटी
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij