जनचाहना न्युज
तनहुँ ३१ भदौ
पूर्खाले बनाएको चौतारी मासिँदै जान गएका छन् । चौतारीको अतिस्त्व सङ्कटमा पर्दै गएपछि त्यसको असर मानव जीवनमा समेत पर्दै गएको छ । मानव जीवनमा अति उपयोगी चौतारी बिनाश हुदै जान थालेपछि डिभिजन वन कार्यालय तनहुँले संरक्षणको पहल थालिएको छ ।
कार्यालयले अभियान नै सञ्चालन गरेर पहल थालेपछि गाउँठाउँमा पुन ः चौतारी हराभरा देखिन थालेको छ । हाम्रा पूर्खाले निर्माण गरेको चौतारी सम्पदा हो । यसको संरक्षण गर्नु आजको आवश्यकता पनि बनिसकेको छ ।
बाटोघाटो हिड्दा,थकाई लाग्दा थकाई मेटाउने, गाँउबेसी गर्दा भारी बिसाउन, पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरेपनि हाल त्यसतर्फ चासो कमी हुदै गएका कारण चौतारी लोप हुदै गएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।
मोटरबाटो खन्दा रुख ढाली दिने र मानिसहरु चौतारीमा भन्दा एसी र पङ्खाबाट शितल लिने गरेकाले नयाँ रोप्न नचाहने गरेकोले चौतारी लोप हुँदै गएको हो ।
मानव जीवनको लागि चौतारी आवश्यक महसुस गरी संरक्षणको प्रयास थालिएको छ । संरक्षणको लागि अभियान शुरुवात संगै त्यसको लागि स्थानीय तहका जनप्रतिनिधी,सामुदायिक वनका उपभोक्ताहरुलाई चौतारीको वातावरणीय महत्वको बारेमा प्रशिक्षण दिन थालिएको छ ।
वरपिपलले हानीकारक किराहरुको नास गरिदिने, बा¥हैमासा स्वच्छ हावा दिने भएकोले पर्यावरणीय दृष्टिकोणले धेरै महत्व रहेका कारण यसको संरक्षण गर्नुपर्छ भनेर लागेको हो ।
चौतारी संरक्षण पहल शुरु भएसँगै गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गत वर्ष पाँच वटा चौतारो संरक्षण गरिएको कार्यालय सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । प्रति चौतारी रु.एक लाख आर्थिक सहयोग र दश प्रतिशत जनसहभागितामा संरक्षण गरिएको छ ।
म्याग्दे गाउँपालिका–७ स्थित रिपा शिखर थुम्की सामुदायिक वन, म्याग्देकै सोही वडाको जनचेतना आमा समुह व्यास नगरपालिकाको वडा नम्बर १ स्थित अकला सामुदायिक वन, वडा नम्बर १० स्थित सर्वज्योती आमा समुह र वडा नम्बर ११ स्थित तनहुँसुर सामुदायिक होमस्टेमा चौतारा निर्माण गरिएको छ ।
सलह, अमेरिकी फौजी किरा जस्ता हानिकारक किरा नियन्त्रण लिन वर पिपल, आँप तथा समीका रुखले भूमिका खेल्ने उहाँले जानकारी दिनुभयो । खेतबारी नजिकै वर पिपलका रुखहरु हुने हो भने मुल नसुक्ने हुँदा जमिन रसिलो हुने मात्रै नभई चराचुरुङ्गीको बास हुने हुँदा बाली नष्ट गर्ने हानिकारक किराहरु चराले खाईदिँदा नियन्त्रणमा समेत मद्धत पुग्ने काफ्ले बताउँछन् ।
यस्ता महत्वको बारमा जनप्रतिनिधीलाई जानकारी गराएर वर पिपलको संरक्षको गर्न आग्रह गरेपछि पालिकाले बजेट छुट्टाउन थालेको उहाँले जानकारी दिए । वरपिपलबाट बाँदरले आहारा पाउने भएकोले यसको संरक्षण गर्दा बालीमा हानी कम हुने डिभिजन प्रमुख काफ्ले बताउँछन् ।
गण्डकी प्रदेश सभाले वि.संं २०७५ साल माघ २७ गते स्वीकृत गरेको विधेयकले प्रदेशको मातहतभित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पु¥याउनुलाई कानुनी रुपमा दण्डनीय कार्यको रुपमा परिभाषित गरेकोले पनि संरक्षणको लागि टेवा पुगेको कार्यालयले जनाएको छ ।
यो ऐनले बर, पिपल, समी र चौतारोको संरक्षणमा जोड दिदै आएको छ । कार्यालयका अनुसार ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीब्रता दिनको लागि एउटा कोषको समेत व्यवस्था गर्न भनिएको छ ।
सो कोषमा नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वर पिपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरी कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरु काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा गरिएकोले संरक्षणमा पहल भएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij