एस.बि.नेपाली
तनहुँ ५ कार्तिक
गुणस्तर शिक्षामा राष्ट्रिय रुपमा ख्याति कमाउँदै आएको सत्यवती माध्यमिक विद्यालय समयको मागसंगै डिजिटल प्रविधिमा फड्को मारेको छ । सदरमुकाम स्थित व्यास नगरपालिका–२ बालमन्दिर लाइनमा रहेको यस बिद्यालयले समयको मागसंगै विद्यालयले कक्षा कोठामा ह्वाइट बोर्ड हटाएर स्मार्ट बोर्ड र स्मार्ट टिभी जडान गरेको छ ।
छोटो अवधिमा धेरै कुरा सिक्न र सिकाउन सकिने हुँदा शिक्षा क्षेत्रमा अझै सकारात्मक प्रभाव पर्न सक्ने देखिएको छ । त्यसैगरी विद्यालयले सिसी टिभी जडान गरेर विद्यार्थीको गतिबिधीका बारेमा अवलोकन गर्ने गरेको छ ।
इन्टरनेट जडित डिजिटल प्रविधिले युटुब,गुगलबाट आवश्यक पर्ने शैक्षिक सामाग्री देखाउन सजिलो हुने भएकोले पठनपाठनमा विद्यार्थीको रुचि बढ्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए । पच्चीस वटा ह्वाइट बोर्ड र पच्चीस वटा स्मार्ट टिभी ७५ इन्जको जडान गर्न लागिएको छ । उनले भने,‘साना कक्षामा स्मार्ट टिभी र ह्वाइट बोर्ड दुबै राखिएको छ ।’
विद्यालयको बयालिस वटा कक्षा कोठामध्ये पच्चीस कोठामा स्मार्ट बोर्ड अन्य कोठाका स्मार्ट टिभी जडान गरी बिद्यालयले प्राविधिक र गुणस्तर शिक्षामा बर्चश्व कायम गराउन सफल भएको छ ।
विद्यार्थीको आर्कषणको केन्द्र बनेको यस विद्यालयमा हाल दुई हजार सात सय बिद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ६० प्रतिशत छात्राको बाहुल्यता रहेको छ । यस बिद्यालयले ब्रिटिस काउन्सिलबाट अन्तराष्ट्रिय स्कूल अवार्ड पाएको छ । पैसठ्ठी जिल्लाका माध्यमिक विद्यालयको गुणस्तर मापनमा १७ औं स्थान हासिल गर्न विद्यालय सफल भएको छ । उक्त विद्यालयमा कक्षा १२ सम्म बिज्ञान,कम्प्युटर इन्जियिर,शिक्षा र कर्मस बिषयमा पढाई हुदै आएको प्रधानाध्यापक एक बहादुर गुरुङ्गले जानकारी दिए । ।
सिसी क्यामेराबाट बालबालिकाको निगरानी
त्यसैगरी आफ्ना बालबालिकाले कसरी अध्ययन गरिरहेका छन् भनेर सिसी क्यामेराबाट निगरानी गर्न अभिभावकका लागि व्यवस्था मिलाएको छ । आफ्ना छोराछोरीको विद्यालय कक्षाकोठामा रहदाँ गरेका गतिबिधीका बारेमा समेत सिसी क्यामेराबाट हेर्न पाइने व्यवस्था गरिएको छ । कमजोर रहेका विद्यार्थीलाई अभिभावकसंगै राखेर विद्यालय व्यवस्थापन समिति र शिक्षकको समन्वयमा अध्ययन सुधारको लागि सकारात्मक सोचको लागि पहल गर्ने गरिएको छ ।
अभिभावकले विद्यालयमा आएर आफ्ना बालबालिकाको पढाईको बारेमा चासो दिने बानीको बिकासमा क्रमिक सुधार हुदै जाँदा विद्यालयलाई थप हौसला मिलेको विद्यालय अभिभावक संघका अध्यक्ष सोमराज सिग्देलले जानकारी दिए ।
छात्राबृत्तिमा रु.तीस लाख
त्यसैगरी विद्यालयले गरीब तथा जेहेन्दार गरी करिब चार सय विद्यार्थीलाई गत बर्ष रु.तीस लाख छात्राबृत्ति बितरण गरेको छ । नेपाल सरकारले प्रदान गर्ने छात्राबृत्ति बाहेक विद्यालयको आन्तरिक स्रोतबाट विद्यार्थीलाई छात्राबृत्ति प्रदान गर्ने गरिएको प्रधानाध्यापक गुरुङ्गले बताए । छब्बीस जना छात्रालाई रुम टु रिड संस्थाले किताब,कापी,स्टेशनरी लगायतका सामाग्री सहयोग गर्दै आएको छ । उक्त संस्थाले बालिका शिक्षा कार्यक्रम अन्र्तगत छात्राका लागि मात्रै सहयोग गर्ने गरेको हो ।
स्मार्ट टिभी खरिमा रु.सोह्र लाख
विद्यालयले पच्चीस वटा स्मार्ट टिभी रु.स्रोह लाख सतासी हजार पाँच सय र स्मार्ट बोर्ड रु.सत्तरी लाख एकहत्तर हजार चारसयमा खरिद गरेर ल्याएको विद्यालयका लेखापाल बिष्णु रिजालले जानकारी दिए । स्मार्ट टिभी जडान गरी सकेपनि स्मार्ट बोर्ड जडानको तयारीमा रहेको छ । विद्यालयले परम्परागत शैलीबाट हुने पठनपाठनलाई निरुत्साहित गर्दै आधुनिकतातर्फ लम्किएको उनले बताए ।
दिवा खाजा
त्यसैगरी उक्त विद्यालयले कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम संचालन गरेको छ । व्यास नगरपालिका कार्यालयले दिने रु.पन्ध्रले अपुग भएपछि विद्यालयले प्रतिव्यक्ति रु.दश थप गरिदिएको छ । करिब चार सय विद्यार्थीलाई दिवा खाजाको व्यवस्था मिलाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने गरेका छन् । विद्यालयका शिक्षक शिक्षिकालाई थप प्रोत्साहन गर्न १५ प्रतिशत तलबमा बृद्वि गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष काफ्लेले जानकारी दिए । तर अभिभावकसंग लिइने शुल्कमा बृद्वि छैन् । उनले भने,‘विद्यालयमा हाल ९३ जना शिक्षक शिक्षिका कार्यरत छन् ।’
विद्यार्थी भर्नामा चाप
त्यसैगरी दमौली आसपास क्षेत्रमा निर्मल,जलदेवी,महर्षि बेदव्यास माध्यमिक विद्यालय रहेपनि अधिकाँश विद्यार्थीको आर्कषण सत्यबती माध्यमिक विद्यालय बन्ने गरेको छ ।
विद्यालयले सिधै विद्यार्थी भर्ना नसक्ने भएपछि परीक्षा लिएर परीक्षामा पास भएकालाई मात्रै भर्ना गर्ने व्यवस्था मिलाएको छ । यसरी परीक्षा लिदाँ विद्यालयको कक्षा कोठा क्षमता र जनशक्तिको आधारमा विद्यार्थी भर्ना लिने गरेको छ । कतिपय अभिभावकले आफ्ना छोराछोरी भर्ना नगरेको भन्दै धम्की समेत खानुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काफ्लेले जानकारी दिए ।
खेलमैदान अपुग
विद्यालयमा विद्यार्थी संख्या अत्याधिक रहेका कारण खेलमैदान पर्याप्त नहुँदा विद्यालयमा खेलकूदका क्रियाकलापमा कठिनाई हुने गरेको छ । विद्यालयको प्राङ्गण साँघुरो हुँदा कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई एसेम्लीमा समेत सहभागि नगराउने गरिएको सो विद्यालयले जनाएको छ । विद्यालयको आडमा रहेको कृषि विकास बैक पछाडिको जग्गा पाउन सकेको अवस्थामा केही हदमा सहज हुने देखिएको बताइएको छ ।
विद्यालयको आडमा रहेको सार्वजनिक जग्गा यसअघि व्यक्तिले प्रयोग गर्दै आएको करिब एक रोपनी जग्गा व्यास नगरपालिकाले विद्यालयलाई भोगधिकार गर्न दिएको छ ।
भिरालो जग्गा भएकोले तलबाट पर्खाल लगाएर उक्त जग्गामा चिल्डे«न पार्क बनाउने योजना रहेको छ । उक्त कार्यका लागि योजना पारित भैसकेकोले प्रक्रिया अघि बढाइएको विद्यालयका सहायक प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij