Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

स्व.भट्टराईको स्मृतिमा रु.एक लाख बढीको पत्रकारिता अक्षयकोष स्थापना

  • 255
    SHARES
  • 255 Shares
  • जनचाहना न्युज
    तनहुँ १६ पुस
    समाजसेवी स्वर्गीय हरिभक्त भट्टराईको स्मृति दिवसमा उहाँको परिवारले अक्षयकोष स्थापना गरेका छन् । स्व.भट्टराईका धर्मपत्नी सीता भट्टराई, छोराहरु उत्तम र सुमन, बुहारीहरु ईश्वरी र यमुना भट्टराई तथा छोरी मञ्जु केसीले बुवाको स्मृति दिवसका दिन शनिबार रु.एक लाख १० हजारको अक्षयकोष स्थापना गरेका हुन् ।  
    उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारीको उपस्थितिमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई छोरा सुमन भट्टराई र बुहारी यमुना भट्टराई हस्तान्तरण गरे ।  
    पत्रकारलाई पत्रकारिता क्षेत्रमा टिकाइरहन प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको उहाँका छोरा सुमनले बताए । 
    “बुवा समाजसेवामा लागिरहेको अवस्थामा नै स्वर्गवास हुनुभयो ।  त्यसैले जीवन्त रहने पत्रकारिता पेशालाई प्रोत्साहन गर्ने लक्ष्य सहित अक्षयकोष स्थापना गरेका हौं । समाजको आँखा मानिएका पत्रकारलाई बुवाको स्मृतिमा सम्मान गर्न गरेका हौ, छोरा सुमनले भने ।  
    पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने गरी भट्टराई परिवारले अक्षयकोष स्थापनार्थ उक्त रकम प्रदान गरेको अध्यक्ष पौडेलले बताए । नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य प्रदीप काफ्लेले पत्रकारिता क्षेत्रमा लाग्ने युवालाई यस्ता कार्यले प्रोत्साहन मिल्ने बताए । यसले पत्रकारलाई खोजी र तथ्य परक समाचार संकलनतर्फ सचेत गराउनुका साथै सत्य समाचार लेख्न सहयोगी सिद्ध हुने उनको जोड थियो । 
    नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारीले निराशा छाउने अवस्थामा पुगेका पत्रकारलाई पुरस्कारले यस क्षेत्रमा रहन प्रेरित गर्ने बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार