जनचाहना न्युज
तनहुँ ३ बैशाख
तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई धमाधम सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिक सत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा अनिबार्य अध्ययन गराउने यसअघि निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले २ छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेका छन् । छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा २ कक्षामा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयमा ७ कक्षामा भर्ना गराइसक्नुभएको छ । अध्यक्ष चुमानका छोराछोरी यसअघि आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूलमा अध्ययन गराउँदै आएको अध्यक्ष चुमानले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गरिएको हुँदा अहिलेसम्म ५ जनप्रतिनिधिले छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराइसक्नुभएको छ,उहाँले भन्नुभयो । गाउँपालिकाका ३२ जनप्रतिनिधिले छोराछोरी एवं नातिनातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न लागेका छन् ।
गाउँपालिकाले विक्रम संवत् २०८० साललाई सामुदायिक विद्यालयको शिक्षा रूपान्तरण अभियानका रूपमा अगाडि बढाउँदैछ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ‘सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा त भन्छौं, व्यवहारमा उतार्दैनौं, अब जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौं,’ उहाँले भन्नुभयो ‘यसले गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढने बिश्वास गरिएको छ ।’
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij