जनचाहना न्यूज
तनहुँ ११ भदौं
आँबुखैरेनी गाउँपालिका कार्यालयले कक्षा ११ र १२ मा अध्ययनरत चेपाङ विद्यार्थीलाई खाद्यान्नदेखि कोठा भाडासम्म सुविधा प्रदान गरेको छ ।
घरदेखि विद्यालय टाढा पर्ने भएकाले कक्षा ११ र १२ मा बसेर अध्ययन गर्नका लागि खानादेखि आवाससम्मको जिम्मा गाउँपालिकाले लिएको हो ।
गाउँपालिका भरी रहेका सिमान्तकृत चेपाङ जातिका बालबालिकालाई कक्षा १२ सम्म पूर्ण रुपमा निःशुल्क शिक्षा दिने निर्णय यसअघि नै गाउँपालिका कार्यालयले गरिसकेको छ ।
सोही निर्णय अनुरुप विद्यालय तहको पढाईमा चेपाङ बालबालिकाको लागि कापी कलम,पोशाक लगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
विद्यालय तहमा पढ्ने बालबालिकाले घरबाट विद्यालय जान र आउन सक्ने भएपनि कक्षा ११ र १२ घरबाट सम्भव नभएकाले गाउँपालिकाले छुट्टै आवास र खानाको सुविधा प्रदान गरेको हो ।
गाउँपालिकाभित्र कम्तीमा साठी जनाको हाराहारीमा चेपाङ जातिका बालबालिका अध्ययनरत रहेको उनले बताए ।
आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनबाट बञ्चित हुन नपरोस भनि गाउँपालिकाले यस किसिमको प्रोत्साहन कार्यक्रम अघि सारेको हो ।
शिक्षामा निःशुल्क भएसंगै चेपाङ बालबालिकाहरु पछिल्ला समय पढाईतर्फ आर्कर्षित हुदै गएका छन् । आँबुखैरेनी–५ का रामशाह माध्यमिक विद्यालय कक्षा ११ मा भर्ना भएका बिद्यार्थी अमृत चेपाङको सम्पूर्ण खर्च गाउँपालिकाले व्यवस्था गरिदिएको छ ।
विद्यार्थी अमृतको विद्यालयमा लाग्ने शुल्क, गास र आवास सहितको सुविधा व्यवस्था गरिदिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।
यस क्षेत्रका चेपाङ समुदायका मुख्य आयस्रोत बाँसजन्य सामाग्री निर्माण गरी बिक्रीबाट जीविकोपार्जन गर्दै आएको सो गाउँपालिकाले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij