जनचाहना न्यूज
तनहुँ २१ भदौ
जिल्लाको व्यास नगरपालिका–१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले स्थानीयस्तरका पराम्परागत सीप र पढाईलाई संगसंगै सिकाउँदै आएको छ ।
दिनभरीको पढाईबाट थकित हुने विद्यार्थीलाई तनाबमुक्त बनाउन अन्तिम पिरिएडमा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालेको विद्यालयले जनाएको छ ।
विद्यालयले सिक्दै पढ्दै अभियान अन्र्तगत गायन बाद्यबाजन, नृत्य, चित्रकला, हस्ताकला, वक्तृत्वकला,बाबियाँको डोरी बाट्ने लगायतका कार्यलाई प्राथामिकता दिन थालेको हो ।

करिब एक हप्ता अघिदेखि पढाईको साथसाथै सीपमूलक शिक्षा प्रदान गर्न थालेपछि अभिभावकहरु समेत खुशी हुन थालेको विद्यालयका शिक्षक बुद्धिबहादुर बरालीले जानकारी दिए ।
घोकन्ते शिक्षाको तुलनामा व्यवहारिक शिक्षा प्रभावकारी बन्दै जाँदा विद्यालयका शिक्षकहरु पनि उत्साहित भएर सिकाउन लागेको उनले बताए ।
विद्यार्थीहरुको आवश्यकता अनुरुप बाद्यबाजनको माग पूरा गर्न कठिनाई भैरहेको छ,उनले भने,‘विद्यार्थीलाई आवश्यक पर्ने सामाग्री व्यवस्थापन गर्न सके राम्रो गर्न सक्ने अपेक्षा गरिएको छ ।’
विद्यालयको कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई आफ्नो रुचिको बिषय क्षेत्र छुट्टाइएर सिक्न लगाइएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर दरैले जानकारी दिए ।
उक्त विद्यालयमा हाल डेढ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । आदिवासी जनजाति समुदायका बालबालिकाको बाहुल्यता रहेको उक्त विद्यालयमा क्षेत्री र बाहुनको संख्या नगण्य मात्रामा रहेका छन् ।
अहिले विद्यार्थीसंग कुनै पनि शुल्क लिइएको छैन्,उनले भने,‘पछि बिज्ञहरु ल्याउनुपर्ने अवस्था आयो भने,त्यो अवस्थामा लिन पनि सकिन्छ होला ।’
स्थानीयस्तरका सीपमा संरक्षण ः
स्थानीयस्तरका सीप बिस्थापित बन्दै गएको अवस्थामाले यस किसिमको शिक्षाले संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । आफ्ना छोराछोरीलाई अभिभावकहरुले सिकाउनुपर्ने दायित्व भएपनि त्यो हुन नसक्दा विद्यालयले पहलकदमी थालेको हो ।
स्थानीयस्तरका सीपहरु लोपोन्मुख हुने अवस्थामा पुगेकाले संरक्षण गर्दै सीप हस्तान्तरण गर्ने योजना रहेको प्रअ दरैले बताए । सीपहरु स्थान्नतरण र हस्तान्तरण हुन सकेको छैन् स्थानीय सीपलाई जोगाउँदै स्थान्नतरण गर्ने सोचका साथ विद्यालय परिवार अघि बढेका छौ,उनले भने ।
विद्यालयमा अध्ययन गरेर आउनु भएका शिक्षक पुरन गुरुङ्गसंग चौतर्फी सीप र ज्ञान भएका कारण विद्यार्थीलाई प्रशिक्षण दिदै आउनु भएको छ ।
स्थानीय भूपु विद्यार्थी,भूपु शिक्षक,स्थानीयबासी,स्थानीय तह सबैको साथ र सहयोग रहेमा यस विद्यालयलाई नमुना विद्यालयको विकास गर्न सकिने प्रचूर संम्भावना देखिएको प्रअ दरैले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij