जनचाहना न्यूज
तनहुँ २५ असोज
व्यास नगरपालिका–१ खकौली स्थित बुद्व दाहाल बहिरा प्राथामिक विद्यालयलाई बिहीबार आर्थिक सहयोग प्रदान गरिएको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधी सभासदस्य डा.स्वर्णिम वाग्लेको पहलमा नेको फाउण्डेशनको सहयोगमा रु.तीन लाखमध्ये पहिलो चरणमा रु.एक लाख सहयोग प्रदान गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विकास सिग्देल,सहसंयोजक सूर्यमणि पौडेल,जिल्ला नेता बिश्व बास्तोला,चूडामणि दाहाल लगायतकाले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मणिजंग बस्नेत,प्रधानाध्यापक भैरब पन्थलाई संयुक्त रुपमा रु.एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
विद्यालयका लागि प्राप्त भएको उक्त सहयोग रकम एक कार्यक्रमका बीच प्रदान गरिएको रास्वपा जिल्ला संयोजक विकास सिग्देलले जानकारी दिए । आज भन्दा सोह्र बर्ष अघि नेपाल सरकारले गरेको निर्णय अनुरुप अहिलेको महँगीको समयमा मासिक रु.चार हजारले तेत्तीस जना बालबालिकालाई खर्च धान्दै आएको सो विद्यालयले जनाएको छ ।
अबोध बालबालिकाको भविष्यको लागि सहयोगी हात फैलाउने क्रममा आज एउटा भगवानको उदय भएको महसुस गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजंग बस्नेतले बताए ।
साँसद वाग्लेबाट प्राप्त भएको सहयोग रकमबाट बालबालिकाहरुको पौष्टिक आहार खुवाउनमा सहज हुने बिश्वास गरेका छौ,उनले भने ।
केही दिनअघि जिल्लामा घरदैलो अभियानमा आउनु भएका साँसद वाग्लेलाई भेट गरी विद्यालयको समस्याका बारेमा जानकारी गराएको छोटो अवधिमै सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक भैरब पन्थले बताए ।
उक्त विद्यालयमा तनहुँ,गोरखा,लमजुङ,स्याङ्जा,कास्की र नवलपरासीका जिल्लाका बालबालिकाहरु अध्ययनरत छन् । हाल उक्त विद्यालयमा छब्बीस बालक र सात बालिका गरी तेत्तीस जना बालबालिका अध्ययनरत हुदै आएको प्रअ पन्थले जानकारी दिए । कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी व्यास–१ का सभापति कमल जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
को हुन बुद्व दाहाल ?
हाल बुद्व दाहाल बहिरा प्राथामिक विद्यालय रहेको स्थानमा बुद्व दाहाल जन्मिएका थिए । भारतीय सेनामा कार्यरत हुँदा एम्बुसमा परी २०५५ फागुन महिनामा बुद्वको मृत्यु भएपछि भारत सरकारले रु.चालिस लाख प्रदान गरेको थियो ।
उक्त रकममध्ये रु.दश लाख विद्यालयको नाउँमा खर्च गरी उहाँकै नाउँमा विद्यालय स्थापना गरिएको मृतकका मामा चिनबहादुर भण्डारीले जानकारी दिए । भारतीय २÷९ जिआरमा भर्ती भएका बुद्व कलिलो उमेरमै शहादत प्राप्त गरेपछि दाहाल परिवारले उहाँको सम्झनामा विद्यालय स्थापना गरेका हुन् ।
दाहाल परिवारले एक रोपनी आठ आना जग्गा र रु.दश लाखको लगानीमा भवन निर्माण गरेपछि स्व.दाहालको सम्झनामा विद्यालय स्थापना गरी संचालन हुदै आएको हो । बुबा खड्क बहादुर दाहालको केही बर्ष अघि निधन भैसकेको छ भने आमा सीता दाहाल जीवितै हुनुहुन्छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij