जनचाहना न्यूज
तनहुँ २० मङ्सिर
व्यास नगरपालिका–१० निवासी आश्रुत लामिछाने सोही वडा स्थित शिव माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन् । ढाईसंगै उनले सीपमूलक तालिम पनि सिकेका छन् । पञ्चेबाजा अन्र्तगत उनले ढलाकी बजाउन सिकेका हुन् ।
विद्यालयले सिक्दै,पढ्दै कार्यक्रम अन्र्तगत एक महिने पञ्चेबाजा संम्बन्धि प्रशिक्षण दिएपछि उहाँ ढलाकी बजाउन निपुर्ण बनेका छन् ।
सुरुमा कसरी बजाउने होला,बजाउन सकिएला भन्ने सोचेको थिएँ,उनले भने,‘प्रशिक्षकले दिएको ज्ञानलाई व्यवहारमा लागू गर्दै निरन्तरको प्रयास पश्चात अहिले ढलाकी बजाउन सक्षम बनेको छु ।’
विद्यालयले चितवनबाट प्रशिक्षक ल्याएर इच्छुक विद्यार्थीहरुका लागि पञ्चेबाजा संम्बन्धि एक महिने प्रशिक्षण दिएको शिक्षक धु्रव भण्डारीले जानकारी दिए ।
लामिछाने जस्तै कक्षा १० मा अध्ययनरत शिशिर सापकोटा टेम्पो बजाउन सफल भएका छन् । इच्छाशक्ति भए नसकिने भन्ने हुँदो रहेनछ विद्यार्थी सापकोटाले भने,‘सुरुमा डर लागे जस्तो भएपनि अहिले मज्जाले बजाउन सकिन्छ ।’
विद्यालयमा पठनपाठन बन्द भएको समय र बिदाका दिनमा समाजमा हुने बिवाह,ब्रतवन्ध,पूजाआजा लगायतका कार्यक्रममा पठाइने सोच बनाइएको सो विद्यालयले जनाएको छ ।
विद्यालयमा बाद्यबाजनका साथै नृत्य,टपरी बुन्ने,तरकारी खेती,बत्ती कातने,कपाल काट्ने लगायतका सीप विद्यार्थीलाई दिएर संस्कारी बनाउन लागिएको अर्का शिक्षक नेत्रबहादुर दरैले जानकारी दिए ।
पञ्चेबाजामध्ये नर्सिया बजाउने प्रशिक्षण दिने तयारी गरेका छौ,उनले भने,‘बाद्यबाजन र पञ्चे बाजा बजाउन सकेपनि नर्सिया बजाउन सक्दैनन्,छिट्टै व्यवस्था गर्ने योजनामा छौ ।’
परियार समुदायले बजाउने पुख्यौली पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बन्ने खतरा बढेको छ भने आधुनिक बाजाले बिस्थापित हुदै गएको छ । पुख्यौली सम्पत्तिको संरक्षण एवं सम्बद्र्धन गर्न पनि विद्यालयले यसलाई प्राथामिकता दिएको हो ।
कक्षा ८,९ र १० कक्षाका विद्यार्थीलाई शिक्षाको साथै व्यवहारिक शिक्षा प्रदानमा जोड दिइएको प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए ।
विद्यार्थीलाई पठनपाठनमा मात्रै केन्द्रित गर्दा पट्यार लाग्ने,बोर फिलिङग गर्ने र पढाईमा ध्यान नदिने भएकाले यस्ता सीपमूलक शिक्षामा जोड दिइएको उनले बताए ।
नाच,गान लगायतका सीपमूलक शिक्षा प्रदान गर्न थालेसंगै विद्यार्थीहरु उत्साहित भएर सीप सिक्ने र पढ्ने कार्यमा रुचि लगाउने गरेका छन्,उनले भने ।
सीप सिकेका विद्यार्थीले आफु भन्दा तल्लो कक्षामा अध्ययनरत इच्छुक विद्यार्थीलाई पनि सिकाएर सीप हस्तान्तरण गर्न लगाइएको छ,उनले भने,‘विद्यार्थीबाट विद्यार्थीमा सीप हस्तान्तरण गरी पञ्चेबाजालाई सदाबहार जीवन्तता दिन लागिएको छ ।’
कक्षा १०मा अध्ययनरत विद्यार्थी एसइई पश्चात अर्को विद्यालयमा जानु अघि सिकेको सीप आफु भन्दा पछिका पुस्तालाई सिकाउने व्यवस्था मिलाइएको सो विद्यालयले जनाएको छ ।
विद्यालयको भावी योजनामा प्लाम्बिङ र वाइरिङ लगायतका सीपमूलक र आयआर्जनमूलक संम्बन्धि तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । विद्यार्थीले मात्रै नभई शिक्षक शिक्षिकहरु पनि बाद्यबाजन बजाउन,गाउन र नाच्न उत्तिकै सक्षम बन्दै गएका छन् ।
कक्षा १० मा अध्ययनरत छात्र शिशिर सापकोटाले टेम्पो,आश्रुत लामिछानेले ढलकी,अमन दरै र सागर पुरीले दमा,टेक बहादुर मगरले सनाई र रेश्मा बोटेले झ्याली लगायतका बजाउन सिकेका छन् ।
कक्षा १ देखि ५ सम्म स्मार्ट टिभी र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई स्मार्ट बोर्ड राखेर पठनपाठन गराउन थालिएको छ ।
समयको मागसंगै विद्यालयले प्राविधिक शिक्षालाई प्राथामिकता दिदै आएको सो विद्यालयले जनाएको छ ।
दलित,जनजाति र सिमान्तकृत बालबालिकाको बाहुल्यता रहेको यस विद्यालयमा हाल तीन सय विद्यार्थी अध्ययनरत छन् ।
क्षेत्री र बाहुनका बालबालिका न्यून संख्यामा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कोइरालाले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij