जनचाहना न्यूज
तनहुँ ३० मंङिसर
जिल्लाको व्यास–१३ बेलवास स्थित सिद्धबेनी आधारभूत बिद्यालय बौद्धिक अपाङ्गता भएका विद्यार्थीको अध्ययन केन्द्रको रुपमा विकास हुदै गएको छ ।
तनहुँसहित विभिन्न बाग्लुङ, स्याङजा, गोरखा, धादिङ, नवलपरासी, पर्वत र चितवन गरी आठ जिल्लाका बालबालिका सो विद्यालयमा अध्ययनरत छन् ।
उक्त विद्यालयमा हाल बाह्र छात्र र आठ जना छात्रा गरी बीसन जना बौद्धिक अपाङगता विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयका निमित्त प्रधानाध्यापक खड्गबहादुर सुवेदीले जानकारी दिए ।
उहाँका अनुसार केही विद्यार्थी घरमा छुट्टीमा गएका छन् । विसं २०५१ सालमा सोही वडमा पर्ने बेनीकोट स्थित बेनी मित्र प्राविमा बौद्धिक अपाङ्गता विद्यार्थीलाई पढाउने गरेपनि असुविधा भएपछि विसं ०६४ सालमा उक्त विद्यालयमा स्थानान्तरण गरिएको हो ।
होल्याण्डका नागरिक डिरेक र मार्जरी दम्पत्तीले रु.आठ लाखमा विद्यालय भवन निर्माण गरिदिएपछि अपाङ्गता भएका विद्यार्थीलाई सिद्धबेनीबाट पठनपाठन कार्य थालिएको हो ।
अपाङगता भएका विद्यार्थीको खानाको लागि नेपाल सरकारले प्रति विद्यार्थी प्रति महिना रु.तीन हजार पाँच सय बजेट बिनियोजन हुने गरेको उहाँले बताए ।
उनीहरुको रेखदेखका लागि एक जनशक्ति र दुई शिक्षक रहेका छन्,उनले भने,‘हप्तामा २÷३ तीन सरसफाई,तरकारी,खेती,च्याउ खेती,मैनबत्ती बनाउने लगायत तालिम पनि प्रदान गरिनेछ ।’
पोषक बापत प्रति महिना प्रति विद्यार्थी रु.पाँच सयका दरले व्यवस्था गरिएको छ,उनले भने,‘तरकारीको लागि विद्यार्थी आफैले उत्पादन गरी प्रयोग गर्दै आएका छन् ।’
शिक्षासंगै उनीहरुको आनीबानीमा सुधार गर्दै सीपमूलक तालिम प्रदान गरेर आयमूलक र स्वरोजगार बनाउने मुख्य लक्ष्य रहेको छ ।
उक्त विद्यालयमा क्षमता अनुरुप विद्यार्थी राखेर शिक्षा तथा तालिम प्रदान गरिएको छ ।
विद्यालय परिसरमा रहेको जग्गामा मौसम अनुसारको तरकारी खेती गरेर आफैले उपभोग गर्ने गरेको विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णभक्त तिवारीले जानकारी दिए ।
अपाङ्गता विद्यार्थीलाई सहयोग
त्यसैगरी उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीका लागि विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने गरेका छन् ।
बौद्धिक अपाङगता विद्यार्थीका लागि न्यानो कपडा, खाद्यान्न र स्टेशनरी सामाग्री सहयोग हुने गरेको सो विद्यालयले जनाएको छ ।
व्यास नगरपालिका–३ जन्मभई हाल अबुधावी युएई कर्मथलो बनाउनुभएका सोनम श्रेष्ठका परिवारले रु.६५ हजार बराबरको न्यानो कपडा र खाद्यान्न सहयोग गर्नुभएको निमित्त प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।
एनआरएनए एससी युएईका उपाध्यक्ष एवं एमटी ८८४८ रेष्टुरेन्टका संचालक सोनम श्रेष्ठ र उहाँका पति महेश श्रेष्ठले गत शनिबार उपलव्ध गराउनुभएको कपडा तथा खाद्यान्न सहयोग गरेको हो ।
सामाजिक कार्यमा सक्रिय दमौलीका युवा पुष्प श्रेष्ठ, शुरेस पुरी, माधब न्यौपाने, पविन्द्र भट्टराई, रमेश गिरि, भरतकुमार श्रेष्ठ, कृष्ण सुनार र रबि भुजेलले सामुहिक रुपमा हस्तान्तरण गरेका थिए ।
श्रेष्ठ परिवारबाट प्राप्त सामाग्रीले चिसोको समयमा बालबालिकाहरुका लागि ठूलो राहत हुने बिद्यालयका निमित्त प्रधानाध्यापक सुबेदीले बताए ।
त्यसैगरी केहि दिन अघि मात्रै नेपाल मानव अधिकार संगठन तनहुँले शैक्षिक सामग्री र पौष्टिक आहार उपलब्ध गराएको थियो ।
बौद्धिक अपाङगता भएका विद्यार्थीका लागि नेपाल सरकार र विभिन्न संघसंस्थाहरुले सहयोग गरेर हौसला प्रदान गर्दै आएको स्रोत शिक्षक फल बहादुर थापाले बताए ।
बालबालिकाहरुका लागि तनहुँ हङकङ समाज,नेपाल बराइन समाज,लेखाजोखा केन्द्र लगायतका विभिन्न संघसंस्थाले बेला बेलामा सहयोग गर्ने गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij