जनचाहना न्यूज
तनहुँ ३० फागुन
जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैंक खाता खोलि दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राहरुको नाउँमा न्युनतम रु.एक हजार मौज्दात भएको बैंक खाता खोल्न लागेको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि गाउँपालिकाले यस किसिमको अभियान अघि बढाएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
गाउँपालिकाले सामुदायिक विद्यालयमा छात्राहरुको आकर्षण बढाउनका लागि छात्रा बचत खाता संचालन कार्यक्रम ल्याउन लागिएको अध्यक्ष शुक्र चुमानले बताए ।
शैक्षिक सत्र २०८१ बाट गाउँपालिकाले यो कार्यक्रम लागु गरिनेछ,उनले भने,‘विशेष गरेर छात्राहरुको वर्तमान र भविष्यको लागि सहयोग पु¥याउने लक्ष्य अनुरुप यस किसिमको योजना ल्याइएको हो ।’
उक्त कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्नुका साथै छात्राहरुमा सानैदेखि बचत गर्ने बानीको समेत विकास हुने बिश्वास लिइएको उनले बताए ।
विद्यालयहरुमा संचालित शिक्षासँग उत्पादन कार्यक्रमबाट विद्यार्थीहरुले गरेको आम्दानीलाई बचतमा जोड्ने लक्ष्य राखिएको छ । कार्यक्रमको लागि सुरुवाती चरणमा करिब रु.पच्चीस लाख रुपैयाँ बजेट लाग्ने अनुमान गाउँपालिकाले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिकामा पैतिस वटा सामुदायिक विद्यालयहरु छन् । जुन विद्यालयमा करिब दुई हजार बढी छात्राहरु अध्ययन छन् ।
त्यसैगरी गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय गरेको छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकको हालै बसेको बैठकले सामुदायिक विद्यालयको शिक्षा सुधारको अभियानमा साथ दिन सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो ।
गाउँपालिकाका अनुसार आगामी शैक्षिक सत्रदेखि आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार अन्तर्गत आँबुखैरेनीका गाउँपालिकाका सबै जनप्रतिनिधिका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरिएकोमा यस वर्ष सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो ।
सामुदायिक विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल प्राप्त नभएकाले सुधारका लागि दबाब दिने उद्देश्य अनुरुप सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।
शैक्षिक गुणस्तर वृद्धि गर्न र सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउनका यस निर्णयले थप सहयोग पुग्ने बिश्वास गरिएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुुणस्तर वृद्विका लागि जनप्रतिनिधि, कर्मचारी,शिक्षक लगायतको छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने,विद्यालयमा गाडीको व्यवस्था, सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बिमा, कर छुट लगायतका काम गर्दै आएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij