जनचाहना न्यूज
दमौली ८ बैशाख
व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा पढ्न विद्यार्थीको आकर्षण बर्षेनी बढ्दै गएको छ । विद्यार्थी भर्नाको चापलाई थेग्न नसकेपछि विद्यालयले प्रवेश परीक्षा लिएर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी छनोट गर्ने गरेको छ । कक्षा १० मा पास भएर दुई सय सन्तानब्बे विद्यार्थी गएपछि रिक्त रहेको विद्यार्थी संख्या पूर्ति गर्न प्रवेश परीक्षा लिएको सो विद्यालयले जनाएको छ । विद्यालयले पिपि वानदेखि नै विद्यार्थी भर्ना गर्न थालेको छ । करिब छ सय विद्यार्थीले भर्नाका लागि आवेदन दिएर शनिबार लिइएको परीक्षामा सहभागि भएको विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराईले जानकारी दिइन् । भौतिक संरचना र जनशक्तिलाई मध्यनजर गर्दै क्षमता अनुरुप विद्यार्थी भर्ना गर्ने बिषयमा विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,शिक्षक बीच छलफल भैरहेको उनले जानकारी दिइन् । उक्त विद्यालयमा दुई हजार छ सय ८५ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयको भौतिक संरचनाले धान्न नसक्ने गरेर विद्यार्थीको ओइरो लाग्ने गरेकाले बाध्य भएर प्रवेश परीक्षा लिनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले जानकारी दिए ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउने भएकाले विद्यालयमा भर्ना गर्न बर्षेनी तँछाडमछाड हुने गरेको उनले बताए । विद्यालयमा प्राविधिक शिक्षा पढ्न पाइने भएकाले पनि विद्यार्थीको सङ्ख्या धेरै ह्ने गरेको विद्यालय प्रशासनले जनाएको छ । विसं २०६८ सालदेखि विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान समूहको कक्षा सञ्चालन भइरहेको छ । यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन हुदै आएको छ । कक्षाकोठाको अभावले गर्दा अभिभावकको इच्छा र आकाक्ष हुँदाहुँदै पनि सीमित संख्यामा मात्रै विद्यार्थी भर्ना गर्नुपर्ने अवस्था भएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देलले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij