व्यासनगरपालिका कार्यालयले दलितका परम्परागत पेशालाई आधुनिकीकरण गर्ने कार्यक्रम ल्याएको भएको छ ।
दलितसंग नगरप्रमुख कार्यक्रम मार्फत दलितका परम्परागत पेशालाई आधुनिकीकरण गर्दै उत्पादकत्वमा बृद्वि गराई आत्मनिर्भर गराउने उद्देश्य रहेको छ ।
व्यासनगरपालिकाको ३५ औं नगर सभाबाट आर्थिक बर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा उक्त योजना ल्याइएको नगरपालिका कार्यालयले जनाएको छ ।
परम्परागत आरनहरुको आधुनिकीकरण,सिलाई तथा छालाको काममा आबद्द व्यक्तिलाई तालिम एवं मेशिन खरिद र अनुदान दिने व्यवस्था रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज सिग्देलले जानकारी दिनुभयो ।
नगरपालिकाले उक्त कार्यक्रमका लागि रु.पन्ध्र लाख बजेट बिनियोजन गरेको छ । दलितका पुख्यौली पेशा लोपोन्मुख बन्दै जान थालेपछि यसको संरक्षण एवं सम्बद्र्धनको लागि नगरपालिकाले उक्त कदम चालेको हो ।
‘ग’ बर्गका अपाङगतालाई भत्ता
त्यसैगरी व्यासनगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने ‘ग’ बर्ग वा पहेलो कार्ड भएका दृष्टिबिहीन,सुस्त,अपाङ्गताहरुको जीवन यापनमा सहजीकरणका लागि अपाङ्गता भत्ताको व्यवस्था गरेको छ ।
नगरपालिकाले शुरुमा बार्षिक रु.दुई हजार पाँच सय व्यवस्था गरेकोमा त्यसलाई बृद्वि गरि रु.चार हजार बनाइएको उपप्रमुख मिरा जोशीले बताउनुभयो ।
नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क अध्यावधिक गरी नेपाल सरकार र प्रदेश सरकारबाट सहयोग उपलव्ध हनु नसकेका ग बर्गका बार्षिक एकमुष्ठ सहयोग गरिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
बिशेष क्षमता भएका बालबालिकाहरुलाई अध्यापन गराउने बिद्यालयलाई अपाङ्गमैत्री बनाउने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ । नगरभित्र निर्माण गरिने सार्वजनिक प्रयोगका भवनहरु मठ,मन्दिर लगायतका संरचनाहरु अपाङ्गमैत्री बनाउने योजना नगरपालिकाको रहेको छ ।
व्यासनगरपालिकामा एक सय ७९ जना ग बर्गका अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । व्यासनगरपालिकाको उक्त कार्य उदाहरणीय कार्य बनेको छ भने अन्य नौ पालिकाले यो सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।
जेष्ठ नागरिक सम्मान
नगरपालिका भित्र रहेका जेष्ठ नागरिकहरुको तथ्याङ्क अध्यावधिक गरी उचित सम्मान र स्यहारको व्यवस्था मिलाइएको छ ।
जेष्ठ नागरिक अपाङ्गता,एकल महिला,दलितहरुलाई प्राप्त हुने सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली अन्र्तगत वडा कार्यालय मार्फत समयमा बितरणको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
असहाय एवं परिवारबाट अपहेलित भई जीवन गुजारा गर्न कठिनाई ज्येष्ठ नागरिकहरुके सम्मान र संरक्षणका लागि सबै वडा कार्यालयको सहयोगमा आवश्यक व्यवस्था गरेको छ ।
जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य सेवा एवं सम्मानका कार्यक्रमहरुलाई निरन्तरता दिइएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij