काठमाडौं। यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ।
फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो। गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो।
एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको बताए। नेपाली धेरै बसोबास गर्ने अन्य देशमा पनि मालाको माग बढिरहेको उनले जानकारी दिए।
पछिल्लो समय काठमाडौं उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भइसकेको फ्यानले जनाएको छ। यद्यपि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसका लागि प्रयोग हुने रातो गुलाफको फूलमा अझै आत्मनिर्भर हुन नसकिएको जनाइएको छ।
यस वर्षको तिहारको लागि ४० लाख सयपत्री फूलको माला चाहिने अनुमान गरिएकामा २५ लाख मालाका लागि मात्र नेपालमा उत्पादन हुने गरेको बाँकी भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको सोसिएसनले जनाएको छ।
हरेक वर्ष बजार माग १५ देखि २० प्रतिशतले बढ्ने र मागअनुसार फूल उत्पादन हुन नसक्दा सयपत्री फूलमा आत्मनिर्भर हुन नसकेको एसोसिएसनका अध्यक्ष बादेले बताए। उनका अनुसार गत वर्षभन्दा यस वर्ष सात लाख बढी मालाको बजार माग छ। गत वर्षको तिहारमा ३३ लाख मालाको माग भएको थियो।
यस वर्ष तिहार उपयुक्त समयमा परे पनि गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण फूलखेतीमा ठूलो नोक्सानी व्यहोर्नु परेको छ। वर्षाको कारण रु १५ करोड बराबरको नोक्सान भएको सोसिएसनले जनाएको थियो।
नेपालमा व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन्। यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएका एसोसिएसनको तथ्यांक छ। नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गर्ने गरेका छन्।
डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij