भर्जिनिया । ८० लाख खर्च गरेर अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमका सुरेश केसीको दुर्घटनामा ज्यान गएपछि ऋण तिर्न नसक्ने अवस्थामा परिवार पुगेको छ । ११ महिनाअघि अमेरिका पुगेका आठबिसकोट नगरपालिका(७ औली गाउँका २१ वर्षिया सुरेशको दुर्घटना ज्यान गएपछि परिवार शोक र तनावमा छ । सुरेशले ११ महिनासम्म पठाएको केही पैसाले घर खर्च चल्यो । ब्याज तिर्न पुग्यो । तीन बहिनी र भाइलाई पढाउन मद्दत गर्यो । तर, अब त्यो सबै सपना गुम्यो । अझ ठूलो बोझ अमेरिका जाँदा लागेको ऋणको सावाँ कसरी तिर्ने भन्ने छ ।
भर्जिनियास्थित च्यान्टिलीमा गत बिहीबार राति भएको कार दुर्घटनामा सुरेशसँगै बर्दियाका विवेक सुवेदीको पनि ज्यान गयो । मधुवनका २२ वर्षीय विवेक छात्रवृत्ति पाएर अमेरिका पढ्न गएका थिए । मदिरा खाएर कार चलाउने चालक ३० वर्षिय विजय तामाङलाई भने सामान्य चोट मात्र लागेको छ । उनलाई ज्यान मुद्दामा त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ । यी दुईको मृत्युले परिवार र साथीभाइ मात्र होइन, नेपालभरका आप्रवासी युवाका सपनालाई समेत झस्काइदिएको छ ।
भर्जिनियामा कार दुर्घटना हुँदा ज्यान गुमाएका रुकुमका २१ वर्षीय सुरेश केसी र बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीलाई श्रद्धान्जली दिँदै नेपाली समुदाय
मदिराको लापरबाही
भर्जिनियाको समयअनुसार बिहीबार राति तीनै जना एक रेस्टुरेन्टमा मदिरा खाएर रमाइलो गरेका थिए । विजय तामाङले कारको स्टेरिङ सम्हालिरहेका थिए । सीटमा थिए, सुरेश र विवेक । मदिराले मातिएका विजयको नियन्त्रण गुम्दा कार राति १२ः३० मा सडक छेउमा ठोक्कियो । कारको पछाडिको भाग कच्याककुचुक भएको छ । तर, चालक विजयलाई सामान्य चोट मात्र लाग्दा बाँच्न सफल भए । कारभित्रका सुरेश विवेकको भने ज्यान गयो ।

दुर्घटनाग्रस्त कार
चालक विजयलाई अमेरिकी प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीविरुद्ध मदिरा सेवन गरेर लापरबाहीले सवारी चलाउँदा दुईजनाको ज्यान जाने अभियोगमा मुद्दा चलिरहेको छ । तर, यो घटनाको सबैभन्दा ठूलो भार मृतकका परिवारले बोकिरहेका छन् ।
अवैध बाटोको मूल्य
अमेरिका पुग्नका लागि सुरेशले दलाललाई ८० लाख बुझाएका थिए । ऋण लिन घर, जग्गा र सम्पत्ति सबै धितो राखिएको छ । तर, उनी अवैध बाटोबाटै सफल रुपमा अमेरिका पुगे पनि त्यहाँको सुनौलो जीवन सुरु गर्दागर्दै अस्ताए । रुकुम पश्चिममा रहेका सुरेशको परिवारमा अहिले आँसुको कुनै सीमा छैन ।सुरेशका बुबा हरिबहादुर भन्छन्, ‘ठूलो ऋण काढेर ठूलो सपना बोकेर पठाएको छोराको अन्त्य यस्तो होला भन्ने कहिल्यै सोचेनौँ ।’ ८० लाख रुपैयाँको ऋण तिर्ने सपना बोकेर अमेरिका गएका सुरेशले ११ महिनामा १४ लाख रुपैयाँ पठाएका थिए । परिवारले सोचिरहेको थियो, ‘बिस्तारै ऋण तिर्ने छ, अनि सबै ठिक हुनेछ ।’ त्यो ऋणको ब्याजसहित करोड पुग्न लागिसकेको छ । सुरेशको परिवारले गाउँभरि हात पसारेर उठाएका पैसा अब कर्जाको भार बनेर थिचिरहेको छ । सुरेशका आमाबुबाको लागि यो ऋण तिर्ने कुनै उपाय छैन । हामीजस्ता मध्य वर्गीय परिवारको लागि यो करोडको ऋण तिर्नु भनेको पहाड उठाएजस्तै हो । छोरो त गयो, अब यो ऋणले हाम्रो जीवन पनि खाइदिन्छ,’ हरिबहादुर भन्छन् ।

मृतक सुरेश केसी
कसरी तिर्ला परिवारले ऋण रु
सुरेश २०७९ फागुन १८ मा अमेरिका पुग्ने सपना बोकेर घरबाट हिँडेका थिए । तर, त्यो सपना पूरा हुन उनलाई झन्डै ८ महिना लाग्यो । यसबीच उनले दुबई, ब्राजिललगायतका देशमा महिनौँसम्म कठिन परिस्थितिमा बस्नुपर्यो । लामो र जोखिमपूर्ण यात्रा पार गर्दै, उनी अन्ततः २०८० मंसिर अन्तमा अमेरिकाको भूमिमा टेक्न सफल भए । उनका बुबा हरिबहादुर खत्रीका अनुसार, अमेरिका पुगेर सुरेशले एक रेस्टुरेन्टमा काम गर्न थालेका थिए । काम सुरु गरेको धेरै समय नभएको भए पनि उनले परिवारको आर्थिक भार कम गर्न थोरै–थोरै रकम घर पठाउन थालिसकेका थिए । सुरेशको परिवारमा बुबा हरिबहादुर, आमा, तीन जना बहिनी, र तीन वर्षका कान्छा भाइ छन् । ती सबैको सपना थियो कि सुरेशले विदेशमा राम्रो कमाइ गरेर घरको आर्थिक अवस्था सुधार्नेछ । तर, ती सपना उनको आकस्मिक निधनसँगै बिचल्लीमा परेका छन् ।
मेधावी विवेकको पनि निधन, जसको सपना अधुरै रह्यो
बर्दिया मधुवनका विवेक सुवेदीको परिवारको अवस्था पनि उस्तै छ । आफ्नो प्रतिभाले छात्रवृत्ति पाएर अमेरिका पुगेका विवेकले परिवारलाई गर्व दिलाए । तर, यो गर्व अहिले पीडाको रूपमा बदलिएको छ । विवेकलाई अमेरिका पठाउन करिब ३० लाख रुपैयाँ खर्च भएको थियो । अध्ययनमा अत्यन्त अब्बल रहेका विवेकले नेपालगन्जस्थित पब्लिक मर्डन निजी आवासीय विद्यालयबाट कक्षा १२ सम्मको पढाइ पूरा गरेका थिए । उत्कृष्ट विद्यार्थी भएका कारण विद्यालयले उनलाई काठमाडौं पढ्न जाने बेला विशेष पुरस्कारसमेत दिएको थियो । काठमाडौंमा स्नातक सके । अनि छात्रवृत्तिमा अमेरिका पुगेका थिए ।

मृतक विवेक सुवेदी
उनको सपना ठूलो थियो — परिवारको आर्थिक अवस्था सुधार्ने र आफूलाई थप सफल बनाउने । तर, नियतिको क्रूर खेलले उनका सपनासँगै उनका परिवारको आशा पनि चकनाचुर बनाइदियो । विवेकको अकाल निधनले विवेकलाई गुमाउँदा मधुवन गाउँ स्तब्ध छ । गाउँलेहरूले गर्व गरेको त्यो विवेक, जसले सबैका लागि प्रेरणा बनेका थिए, अब स्मृतिमा सीमित भएका छन् ।
नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij