के तपाई मापसे गरी सवारी चलाउँदै हुनुहुन्छ ? यदि मापसे गरी सवारी चलाउँदै हुनुहुन्छ भने बेलैमा होशियार बन्न जरुरी छ । यदि मापसेमा परियो भने ठाउँको ठाउँ स्वास्थ्य परीक्षण र रिर्पोट तपाईका हातमा थमाइदिने छ ट्राफिक प्रहरीले । जिल्ला ट्राफिक कार्यालय तनहुँमा अल्को स्मार्ट नामक मापसे प्रिन्ट मेशिन आएपछि मापसे गरी सवारी चलाउनेहरु होशियार बन्नुपर्ने देखिएको छ । मेशिनले कति मात्रामा मदिरा सेवन गरेर सवारी चलाएको छ भन्ने मापदण्ड समेत देखाएर ठाउँको ठाउँ प्रिन्ट गरिदिने सुविधा रहेको जिल्ला ट्राफिक कार्यालय तनहूँका इन्चार्ज एवं प्रहरी नायव निरीक्षक डोलिन्द्र बहादुर हमालले जानकारी दिए । गण्डकी प्रदेश ट्राफिक कार्यालय कास्की गगनगौडाले चार वटा ब्रेथलाइजर (मापसे प्रिन्ट मेशिन) पठाएपछि मापसे चेकिङ कार्यमा कडाई गरिएको उनले बताए । कोरोनाको बिगबिगी भएको अवस्थामा मापसे चेकिङ नगरिएपनि अहिले शंका लाग्यो भने रोकेर परीक्षण गर्न थालिएको उनले जानकारी दिए । यदि कसैले होइन भनेर जिद्दी गर्छन् भने निजलाई नियन्त्रणमा लिएर अस्पतालमा लगि डाक्टरबाट स्वास्थ्य परीक्षण गराइने व्यवस्था समेत रहेको बताए । मापसे गरी सवारी चलाएको भेटिएमा निजलाई नियन्त्रणमा लिई निजका आफन्जनलाई बोलाएर सवारी लैजान दिइनेछ । उनले भने ‘मापसे गरी सवारी चलाउने चालकलाई रु.एक हजार जरिवाना गराएर मात्रै छाडिने गरिएको छ ।’ पाँच पटक सम्म मापसे गरी सवारी चलाएको भेटिएमा सवारी चालक अनुमतिपत्र स्वत ः रद्द गर्ने प्रावधान रहेको छ । मापसे र गम्भीर लापरवाही गरिएको भेटिएमा लाइसेन्समा प्वाल पार्नसम्म सकिने व्यवस्था रहेको छ । यदि स्मार्ट लाइसेन्सको हकमा मापसे गरी सवारी चलाएको भेटिएमा रेर्कडको लागि संम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाइने गरिएको जिल्ला ट्राफिक कार्यालय तनहँुले जनाएको छ ।
९२ चालक कारबाहीमा
मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने ९२ जना चालक कारबाहीमा परेका छन् । चालु आर्थिक बर्ष ०७८÷०७९ को साउनदेखि पौष १४ गतेसम्म ९२ चालक कारबाहीमा परेका हुन् । मापसे गरी सवारी चलाएका उनीहरुलाई रु.एक हजारका दरले जरिवाना गर्दा रु.९२ हजार राजश्व संकलन भएको हो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij