Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बर्डफ्लुको सन्त्रा,सपछि तनहुँको आँबुखैरेनी नाकामा उच्च सतर्कता

  • 194
    SHARES
  • 194 Shares
  • जनचाहना न्यूज
    तनहुँ २५ असार 
    काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लामा पन्छीहरूमा बर्डफ्लु रोग फैलिएसँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले उच्च सतर्कता अपनाएको छ । 
    जिल्लाको आँबुखैरेनी स्थित कृषि तथा पशुपन्छी नियमन इकाईले पन्छीजन्य बस्तु ओसारपसारमा निगरानी बढाएको हो । आँबुखैरेनी नाका भएर कुखुराको चल्ला ल्याउने लैजाने क्रममा शंकास्पद लागेमा बर्डफ्लु रयापिड कीटको प्रयोग गरी परीक्षण गर्ने व्यवस्था मिलाइएको  कार्यालय प्रमुख रबिनसन अधिकारीले बताउनुभयो । 
    उहाँले भन्नुभयो,“कुखुराका चल्लामा पोजेटीभ भेटिएमा तत्काल त्यसक्षेत्रमा सिल गरी पशु सेवा विभागसंगको समन्वय गरी नष्ट गरिनेछ ।” प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी,प्रहरी प्रमुख टेकबहादुर कार्की लगायतको टोलीले नियमन इकाईको स्थलगत अनुगमन गरी चेकजाँच कार्यमा कडाई गर्न निर्देशन दिनुभएको छ । 
    इकाईमा कर्मचारी कमि भएका कारण दिउँसाको समयमा कर्मचारीबाट र रातीको समयमा प्रहरीले निगरानी बढाउने व्यवस्था मिलाइएको छ । कार्यालय प्रमुख अधिकारीले भन्नुभयो,“कार्यालयबाट नियमित किसानका फर्म पुगेर निगरानीका साथै सतर्कता अपनाउन सुझाव सल्लाह दिने कार्य थालिएको छ ।” 
    पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी चिकित्सकबाट प्रमाणपत्र लिएर मात्रै गर्ने व्यवस्था मिलाइएको सो कार्यालयले जनाएको छ ।  त्यसैगरी कार्यालयले बुधबार सूचना जारी गर्दै रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । 
    पन्छी फार्मको परिसरमा जैविक सुरक्षा विधिहरू कडाइका साथ पालना गर्न, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोग नगर्न र ढुवानीको साधनलाई फार्मभित्र प्रवेश गराउँदा अनिवार्य रूपमा निसंक्रमण गरेर मात्र प्रवेश गराउन कार्यालयले आग्रह गरेको छ । 
    काग लगायतका जंगली पन्छीहरूसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिने गरी र पन्छीको दाना लसपस हुन नदिने गरी पन्छीपालन गर्न पनि कार्यालयले सुझाव दिएको छ ।
    यदि पन्छीहरूमा संक्रमण पुष्टि भएर मरेमा त्यसलाई तत्काल गहिरो खाडलमा पुरेर नष्ट गर्नुपर्ने र फार्ममा निसंक्रमण गरी प्राविधिकको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रण विधि अवलम्बन आग्रह गरिएको छ । 
    कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्त नजिकैको पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको सम्पर्क नम्बर ०६५–५६३२०५ र ९८५६०६५२०९ मा खबर गर्न कार्यालयले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार