आँबुखैरेनी ३१ साउन
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालमा थप एक थान डायलासिस मेसिन जडान गरिएको छ । यो मेसिन सँगै अब अस्पतालमा ६ वटा हेमोडायलासिस मेसिनबाट सेवा सञ्चालन हुने भएको छ । मिर्गौला रोगका बिरामीले डायलासिसका लागि हजारौँ रुपैयाँ खर्च गरेर चितवनलगायतका अस्पताल धाउनुपर्ने तथा समयमै पालो नपाउँदा विभिन्न स्थानमा भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यअनुसार डायलासिस सेवा विस्तार गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले आफू पालिकाको नेतृत्वका लागि उम्मेदवार बन्दै गर्दा नै मिर्गौलाका बिरामीले भोग्दै आएको समस्याको समाधान गर्ने अठोट गरेको स्मरण गर्दै थप डायलासिस सेवा सञ्चालन गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो।
अध्यक्ष चुमानले भन्नुभयो, “पालिकाको नेतृत्वको उम्मेदवार बन्दै गर्दा मिर्गौलाका हेमोडायलासिस बिरामीहरू हजारौँ रुपैयाँ खर्च गरेर चितवनलगायतका अस्पताल धाउनुपर्ने र पालो नपाएर चारैतिर भौँतारिनुपर्ने अवस्थाको समाधान गर्ने अठोट थियो। आज त्यो सेवा थप विस्तार गर्दै सञ्चालन गर्न पाउँदा गौरव महसुस भएको छ।” २५ जना बिरामी को करिब एक हजार १०० सेसन डायलासिस भैसकेको अध्यक्ष चुमानले बताउनुभयो । आगामी दिनमा थप व्यवस्थित हुने विस्वास लिइएको उहाँले बताउनुभयो । हालै गण्डकी प्रदेश सरकारबाट थप एक थान डायलासिस मेसिन प्राप्त भएकोमा गाउँपालिकाले प्रदेश सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। थप मेसिन सञ्चालनमा आएसँगै आँबुखैरेनी अस्पतालबाट मिर्गौला रोगका बिरामीले स्थानीय तहमै थप सहज, सुलभ र नियमित रूपमा हेमोडायलासिस सेवा प्राप्त गर्दै आएको छ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij